सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित

धनगढी, २६ असार । सुदूरपश्चिम प्रदेश सरकारकाे आगामी आर्थिक वर्षकाे वजेट पारित भएकाे छ । प्रदेश सरकारले अागामी वर्षका लागि पेश गरेको बजेट बिहीबार प्रदेश सभाबाट पारित भएको हाे ।

प्रदेश सरकारले पेश गरेकाे वजेटमाथि असार २१ गतेदेखि प्रदेश सभामा छलफल शुरु भएको थियाे । बजेटमाथिको छलफल सकिएपछि बजेट सभाबाट पारित भएको हो । बजेट पारित गर्ने प्रस्ताव निर्णयार्थ पेश हुँदा विपक्षमा आवाज नआएपछि प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरे।

बिहीबार प्रदेश सभाको बैठक दुई पटक चलेको थियाे। बिहान साढे ८ बजेको बैठकमा बजेट माथि सांसदहरुले आफ्ना धारणा राखे भने साँझको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेटमाथि छलफलका क्रममा प्रदेश सभा सदस्यहरुबाट उठेका प्रश्नहरुको जवाफ दिए।

सदनमा जवाफ दिँदै मन्त्री बोहराले प्रदेश सरकारले आवश्यकता र औचित्यको आधारमा बजेट विनियोजन गरेको बताए। उनले प्रदेशको विकासका लागि सरकार गम्भिर रहेको र प्रदेशकै गौरवको आयोजनाको रुपमा एउटा जलविद्युत आयोजना बनाउने गरी प्रदेश सरकार अगाडी बढेको जानकारी दिए।

मन्त्री बोहराले भने, ‘सार्वजनिक निजी साझेदारीका आधारमा हामी एउटा जलविद्युत आयोजना अगाडी बढाउने तयारीमा छौँ, त्यसका लागि संघीय सरकारको उर्जा सिचाई तथा जलस्रोत मन्त्रालयसित कुरा भइरहेको छ।’

बिहीबार बिहान साढे ८ बजे शुरु भएको प्रदेश सभा बैठकमा बजेटमाथि अन्तिम छलफल भएको हो। अन्तिम दिनको छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरुले बजेटको पक्ष र विपक्षमा आफ्ना भनाई राखेका छन्। बजेटमाथिको छलफलमा भाग लिँदै सत्तापक्षका प्रदेश सभा सदस्य बलदेव रेग्मीले बजेटमाथि बोल्दा सत्ता र प्रतिपक्ष दुवैले बाजुरा र दार्चुलाको नाम पटक–पटक लिएको भन्दै धन्यवाद दिए। सत्ता र प्रतिपक्ष दुवैलाई व्यंग्य गर्दै उनले भने, ‘नाम लिँदै जानुहोला, पछि केही गरी विकास भइहाल्यो भने बाजुराको नाम लिन पाइने छैन।’

बाजुराको दुर्गम क्षेत्र कोल्टीबाट निर्वाचित नेकपाका सांसद रेग्मीले मार्तडी र कोल्टी जोड्ने सडक कालोपत्रे गर्ने भनेर नेपाली कांग्रेस नेतृत्वको सरकारले २०६० सालभन्दा पहिल्यै बजेट नराखेरै योजना दिएको र त्यसमा केही पनि काम नभएको बताए। रेग्मीले भने, ‘प्रदेशले बजेट राखेपछि अहिले ट्र्याक खोल्ने काम भइरहेको छ, त्यसैले बाजुरामा कसैले पनि केही गरेका छैनन्, बाजुरा भनेर सदनमा बोल्नुको कुनै अर्थ छैन।’

रेग्मी भन्दा पहिले बोलेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले बाजुरा मानव विकास सूचकांकमा दृष्टिकोणबाट पछाडि परेकोले त्यहाँ बजेट राखिनु पर्ने बताएका थिए। प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता डा. रावलले रातो किताबमा कुन मन्त्रालयको कुन शिर्षकमा कति बजेट भन्ने प्रष्ट नभएका कारण आफूहरुले त्यसलाई खाली किताब (ब्ल्यांङ्क बुक) भनेको बताए।

प्रदेश सभाको सार्वजनिक लेखा समितिका सभापति समेत रहेकी प्रदेश सभा सदस्य कुमारी नन्दा बमले चालू आर्थिक वर्षमा विभिन्न योजनाका नाममा भ्रष्टाचार भएको आरोप लगाईन्। उनले आगामी आर्थिक वर्षका लागि पनि साना–साना योजनाहरुमा बजेट राखिएकोले सरकारले प्रदेशको विकाका लागि ठोस योजना बनाएर काम गर्न सक्दैन भन्ने यसले पुष्टि गरेको बताईन्।

बिहीबारको बैठकमा प्रदेश सभा सदस्य दीर्घ सोडारीले बजेटमा साम्यवादी गन्ध आएको भन्दै प्रतिपक्षले आलोचना गरे पनि जनताले दिएको म्याण्डेट अनुसार बजेटमा समाजवाद र साम्यवाद देखिनुपर्ने बताए। उनले सुदूरपश्चिम प्रदेशको बजेट सबैभन्दा सानो आएकाले खिन्नता व्यक्त गर्दै आफू अर्थशास्त्रको विद्यार्थी भएकोले ५ देखि ६ अर्ब रुपैयाँसम्म बजेट बढाउन सक्ने स्थिति रहेकोमा सरकारले त्यसो नगरेकोमा आलोचना गरे।

बिहीबारको छलफलमा नेकपाका प्रदेश सभा सदस्य वीरमान चौधरी, नेपालु चौधरी, मनाकुमारी साउँद, नेपाली कांग्रेसका गोविन्दराज बोहरा, लगायतले बोलेका थिए।

Loading...