कांग्रेस रातारात विप्लव बनेको सञ्चारमन्त्रीको आरोप

काठमाडौं, २६ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले कांग्रेस आफ्नो विचारबाट चिप्लिएर ‘विप्लव’ बनेको आरोप लगाए । बिहीबार सिंहदरवारमा नियमित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले कांग्रेस दिउसो बिपी जस्तो देखिने तर रातभर ‘विप्लव’ बन्ने गरेको आरोप लगाए । उनले कांग्रेस अहिले हिंसाको राजनीतितर्फ अघि बढेकोसम्म भन्न भ्याए । पछिल्लो समय कांग्रेसले सर्लाहीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाका बारेमा सदनमा प्रश्न गर्दै अवरोधमा उत्रिएपछि मन्त्री बास्कोटाले यस्तो आरोप लगाएको देखिन्छ ।

बास्कोटाले भने, ‘कांग्रेसको शान्ति एउटा तारा र लोकतन्त्रको अर्को तारा कता हरायो ? हिंसा र निषेधको राजनीतिलाई सँगै लाने कांग्रेसको कस्तो दृश्य ?’, प्रश्न गर्दै बाँस्कोटाले भने, ‘दिनभर बिपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?’

मन्त्री बाँस्कोटाले भने, ‘सबै घटनामा सरकारले समिति बाउन सक्दैन। समिति बनाएर सम्भव पनि हुँदैन।’ उनले लगातार संसद अवरुद्ध गरेकोप्रति कांग्रेसमाथि आक्रोश व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले सबैले बाँच्न पाउनुपर्ने बताए। उनले, ‘मृत्यु व्यापार होइन। सबैले बाच्न पाउनुपर्छ भन्ने सरकारको धारणा छ । हिंसाप्रति प्रतिपक्षीको दृष्टिकोण के हो ?’

Loading...