अस्पतालबाट १३ दिने बच्चा चोरेर दिल्ली लाँदै गरेका दुई महिला पक्राउ

धरान, २६ असार । अस्पतालबाट १३ दिने बच्चा चोरेर भाग्दै गरेका दुर्इ जना महिलालार्इ प्रहरीले गिरफ्तार गरेको छ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति हराएका शिशु चोरेको आरोपमा प्रहरीले लिला बिक र मिना लिम्बुलाई पक्राउ गरेको हो ।

बुधवार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ दिनका बालकको अपहरण भएको हल्ला चलेको थियो । अस्पतालबाट बच्चा हराएपछि प्रहरीले चारैतिर खोजि अभियान चलाएको थियो । प्रहरीले अपहरणमा परेका नवजात शिशुको तीन घन्टामै उद्धार गरेको हो ।

भोक्राहा–१ की बबिता मेहताको १३ दिने छोरालाई धरान १५ माइती भई भारतको दिल्ली घर भएकी वर्ष २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू (विक) ले अपहरण गरेको प्रहरीले बताएको छ । उनीहरुलाई हराएको बच्चा सहित पक्राउ गरिएको हो ।

प्रहरीले अपहरित नवजात शिशुलाई उनीहरुले भारतको दिल्ली लैजाने तयारी गरेको जनाएको छ । लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको उनीहरुले प्रहरीलाई बयान समेत दिइसकेका छन् ।

अस्पतालमा आमा बबिता र उनका कुरुवा भजित रोशन निदाएको मौका छोपी दुईजना महिलाले नवजात शिशुको अपहरण गरेको बुझिएको छ । उनीहरु दुबै जना प्रसूति वार्ड भित्र छिरेर बबिताको १३ दिने छोरालाई देखेपछि उठाएर लगेको प्रहरीले जनाएको छ ।

Loading...