नेपाल सरकारले नेपालीहरुलाई मलेसिया जान नदिएपछि मलेसियन सरकार बंगलादेशीहरुलाई लैजाँदै

आगामी अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपालबाट १३ महिनासम्म कामदार लैजान नपाएपछि मलेसियाका विदेशमन्त्री साइफुद्दीन अब्दुलाह बन्द रहेको बंगलादेशबाट कामदार लिने विषयमा छलफल गर्न बंगलादेश आइपुगेका छन्। बंगलादेशले आफ्नो देशबाट कामदार लिन उच्च राजनीतिक स्तरबाटै पटक(पटक आग्रह गरे पनि मलेसियाले भने बंगलादेशबाट कामदार लिन इच्छा देखाएको थिएन।

तर मलेसियाली कम्पनीमा कामदारको चरम अभाव हुँदा समेत नेपालले कामदार नपठाएपछि मलेसिया नेपालको विकल्प खोज्न अघिसरेको हो। मलेसियाले बंगलादेशी कामदार लिन सुरु गर्यो भने नेपालीले पाउँदै आएको कोटा काटिने निश्चित छ। त्यसको प्रत्यक्ष असर नेपालीले पाउँदै आएको रोजगारीमा मात्र नभइ समग्र अर्थतन्त्रमा पर्छ ।

२०७५ जेठ २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको भिसा प्रक्रिया तथा स्वास्थ्य परीक्षण गर्दै आएका संस्था एकतर्फी रुपमा खारेज गरे सँगै नेपालीका लागि मलेसिया रोजगारी बन्द छ। नेपालले एकतर्फी रुपमा बन्द गरेको मलेसिया रोजगारी खुलाउन २०७५ कार्तिक १२ गते दुई देशबीच श्रम समझदारी भए पनि कामदार जाने प्रक्रिया भने अझै सुरु हुन सकेको छैन।

नेपालीपक्ष नयाँ प्रक्रियाबाट कामदार लिनुपर्छ भन्ने अडानमा छ भने मलेसियाले विगतको प्रक्रियामा कुनै फेरवदल नहुने प्रस्ट पारिसकेको छ। दुई देशबीच भएको श्रम सम्झौतामा कामदार आपूर्ति गर्दा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने भएपछि प्रक्रियाले कुनै असर नगर्ने मलेसियाली अधिकारीले बताउँदै आएका छन्।

Loading...