गृहमन्त्री ज्यू ! के लोकतन्त्र बचाउन जनप्रतिनिधिलाई ‘सुराकी’ लगाएर मान्छे मार्नुपर्ने भएको हो ?

सर्लाहीमा प्रहरीको गोली लागेर हत्या गरिएका विद्रोही नेकपाका नेता कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै आग्रहमा मारिएको गृहमन्त्री रामबहादुर थापाले खुलासा गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल कसरी मारिए भन्ने बताए । सो क्रममा उनले कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै आग्रहमा कारवाहीमा परेको भन्ने भाषा प्रयोग गरे । उनले प्रष्ट रुपमा भने, ‘लोकतन्त्र र कानुनी शासनको प्रत्याभूति दिन लाग्दा घटना भएको हो । सर्लाहीमा जनप्रतिनिधिकै माग अनुसार कारबाही भएको हो ।’

यसअघि कुमार पौडेलका आफन्तले सर्लाहीका केही जनप्रतिनिधिले हत्या गराएको दावी गरेका थिए । उनीहरुले हत्या गराउनेहरु थाहा भइसकेको बताउदै उनीहरुमाथि कारवाही गर्न पनि माग गरेका थिए । परिवारको उक्त दावीलाई गृहमन्त्रीले संसदमा आधिकारिक रुपमा बोलेर पुष्टि गरेका हुन् । यसबाट पौडेललाई हत्या गराउन स्थानीय जनप्रतिनिधि लागेको परिवारको आरोप प्रमाणित भएको छ । साथै यसले १० वर्षे जनयुद्ध कालकै झल्को दिएको छ । जनयुद्धकालमा पनि कतिपय जनप्रतिनिधिहरु तत्कालीन नेकपा (माओवादी)का नेता, कार्यकर्ता र शुभचिन्तकहरुलाई पक्राउ गराउन सुराकीको भूमिका निर्वाह गरेको आरोप लाग्ने गरेको थियो । त्यतिबेलाको जनयुद्धको प्रमुख नेताहरु मध्ये एक रहेका रामबहादुर थापा बादल अहिले गृहमन्त्री छन् ।

मंगलबार गृहमन्त्री थापाले प्रयोग गरेको भाषा धेरैजनाले अनौठो मानेका छन् । स्थानीय जनप्रतिनिधिकै आग्रहमा कुनै व्यक्तिमाथि कारवाही गरिएको हो भनेर गृहमन्त्रीले संसदमा बोल्नु निकै गम्भीर विषय हो । यसबाट पौडेल मारिनुमा को को स्थानीय जनप्रतिनिधिको कस्तो हात थियो वा थिएन भन्ने प्रश्न समेत उठ्छ । पौडेलका आफन्तले दावी गरेजस्तै र सोही आरोप पुष्टि हुनेगरी गृहमन्त्रीले संसदमा जवाफ दिएजस्तै कोही स्थानीय जनप्रतिनिधि उनलाई पक्राउ गराउन वा हत्या नै गराउन लागेकै हुन् भने यसले गम्भीर सामाजिक द्वन्द्वलाई संकेत गर्दछ । 

साथै गृहमन्त्रीको यो जवाफले सर्लाहीका जनप्रतिनिधिहरु समेत असुरक्षित बन्न सक्ने सम्भावना रहन्छ । परिवारको आरोप मात्र नभई गृहमन्त्रीले समेत पुष्टि गरिदिएपछि अर्को पक्षले ती जनप्रतिनिधिहरुमाथि कस्तो व्यवहार गर्छ भन्ने प्रश्न पनि आउछ । साथै ती जनप्रतिनिधिहरु आफ्नो ठाउँमा कसरी काम गर्न सक्छन् भन्ने प्रश्न पनि उठछ । यदि काेही कसैले जानेर नजानेर त्यस्ताे केही गरेकाे भए पनि गृहमन्त्रीले त्यसलाइ किन खुलासा गरे भन्ने प्रश्न पनि गम्भीर छ । अर्काे प्रश्न पनि उठछ कि के गृहमन्त्रीले ती स्थानीय जनप्रतिनिधिहरुलाइ एक्सपाेज गर्न खाेजेकाे हुन् त? त्यसरी उनकाे के स्वार्थ पूरा हुन्छ ? कतै गृहमन्त्री थापा विद्रोही नेकपालाई उचालेर अझै उत्तेजित बनाउन चाहेका वा स्थानीय जनप्रतिनिधिमाथि आक्रमण गर्न सुरु गरुन् भन्ने त चाहदैनन् भन्ने पनि यसबाट शंका उब्जिन्छ । 

त्यसैगरी गृहमन्त्रीले अर्को गम्भीर सैद्धान्तिक कुरा पनि आफ्नो जवाफको क्रममा उल्लेख गरे । उनले संसदमा बोल्दै भने, ‘लोकतन्त्र र कानुनी शासनको प्रत्याभूति दिन कुमार पौडेल मारिएका हुन् ।” त्यसो भए के लोकतन्त्र र कानुनी शासनको प्रत्याभूति दिन मान्छे मार्नुपर्ने हो ? के मान्छे मारेर लोकतन्त्रको रक्षा हुने हो ? यो पनि निकै गम्भीर प्रश्न हो ।

मंगलवार पनि आफ्नो जवाफमा गृहमन्त्री थापाले कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको दावी गरे । तर, उनको यो दावीमाथि यसअघि नै सांसदहरुले प्रश्न उठाइसकेका हुन् । प्रहरीले नै पौडेल मारिदा ३ जना मात्र भएको बताइसकेको छ । ती व्यक्ति पनि फायरिङ गर्दै मोटरसाइकलमा भागेको गृहमन्त्रीले संसदमै जानकारी दिइसकेका छन् । यहाँनेर मोटरसाइकलमा भाग्नेले कसरी दोहोरो भिडन्त गरेको होला भन्ने प्रश्न पनि छ । त्यहाँ अरु थप दुई जना कोही थिए वा थिएनन भन्ने प्रश्न त छँदै छ नै । यसबाट त्यहाँ भिडन्त भएको हो भन्ने कुनै आधार देखिदैन ।

कुमार पौडेल मारिनुभन्दा केही दिन अघिदेखि नै प्रहरीको केन्द्रीय टोली सर्लाहीमा खटिएको भने थाहा भइसकेको छ । साथै उनका दुबै हात भाँचिएको फोटोहरु समेत सार्वजनिक भइसकेका छन् । सार्वजनिक भएका फोटोले उनलाई नियन्त्रणमा लिएर मारिएको भन्ने प्रष्ट हुन्छ । तर, गृहमन्त्री भने निरन्तर उनी दोहोरो भिडन्तमा मारिएको दावी गर्दै आएका छन् । यहाँनेर प्रश्न छ कि यदि कुमार पौडेल दोहोरो भिडन्तमा गोली लागेर मारिएका हुन् भने मरेपछि उनको हात किन भाँच्नुपर्यो ? यसबाट गृहमन्त्री सत्ताले जे गरे पनि हुन्छ र त्यसलाई पेलेरै भए पनि आफ्नो कुरा लाद्नुपर्छ भन्ने मनस्थितिमा रहेको प्रष्ट देखिन्छ ।

साथै अहिले आएर उनले उनी लोकतन्त्रको रक्षाका लागि मारिएका हुन् समेत भने । त्यसैगरी गृहमन्त्रीले पौडेल स्थानीय जनप्रतिनिधिको आग्रहमा कारवाहीमा परेका हुन् पनि भन्न भ्याएका छन् । कुमार पौडेल मारिएको घटनाको जवाफ दिने सन्दर्भमा मंगलबार गृहमन्त्रीले यतिसम्म भने कि ‘सरकार लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध छ । देशमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध छ ।’ यस्तो सन्दर्भमा उनको यो अभिव्यक्ति कदापी उपयुक्त होइन । साथै गृहमन्त्री थापाले यसलाई जनताको जनादेशसम्म भन्न भ्याए । हरेक सन्दर्भमा कुरा गर्दा जनताको जनादेश भनेर जोड्नु एक अर्थमा निरंकुशता नै हो । मान्छे मारिएको घटनाबारे जवाफ दिँदा गृहमन्त्रीले यो जनताको जनादेश हो भनेर अरु कुरासँग लपेटेर भन्नु कदापी सान्दर्भिक हुनसक्दैन । सायद नेपाली जनताले थापा र उनको दललाई यसैका लागि निर्वाचित गरेका पक्कै होइनन् ।

अग्लो स्थान र हवाइ फायर सम्बन्धि गृहमन्त्रीको अर्को विवादास्पद अभिव्यक्ति

त्यसैगरी गृहमन्त्री थापाले मंगलबार सर्लाहीकै एक अर्को घटनाका सन्दर्भमा पनि निकै विवादित अभिव्यक्ति दिए । सर्लाहीकै इश्वरपुरमा भएको स्थानीयको एक विरोध प्रदर्शनका क्रममा प्रहरीकै गोली लागेर सरोजनारायण यादवको ज्यान गएको विषयमा पनि गृहमन्त्रीले त्यसरी नै हास्यास्पद जवाफ दिए । सर्लाहीको ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएका अमितकुमार साहको मृत्युका सम्बन्धमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सरोजनारायण यादवको ज्यान गएको थियो । उक्त घटनामा प्रहरीले टाउकोमा गोली हानेर मारेको स्थानीयको दावी छ । तर, प्रहरीले भने हवाइफायरका क्रममा गोली लागेको जवाफ दिएको थियो । मंगलबार संसदमा जवाफ दिँदै गृहमन्त्रीले त्यसमा केही कुरा थपेर भने कि विरोध प्रदर्शन गर्नेहरु अग्लो स्थानमा भएकाले हवाइ फायर गर्ने क्रममा टाउकोमा गोली लागेर मृत्यु भएको निकै सहज तर हास्यास्पद जवाफ दिए ।

तर, अनौठो त के छ भने जतिसुकै अग्लो स्थानमा भए पनि हवाई फायरले कदापी मान्छेको टाउकोमा गोली लाग्यो भन्न मिल्दैन । हवाई फायर गर्दा ती व्यक्ति रुखमा त पक्कै चढेका थिएनन होला । हवाई फायर जतिसुकै अग्लो र होचो ठाउँ भए पनि मान्छेको बीचमा हान्ने कुरा कदापी हुन सक्दैन । स्थिति नियन्त्रण लिने नाममा मान्छे मारेर आतंक पैदा गर्ने मनसाय त्यहाँ देखिन्छ नै । तर, त्यसैलाई गृहमन्त्री भने सजिलै भन्छन कि प्रदर्शनकारी उच्च स्थानमा भएकाले प्रहरीले गरेको हवाइ फायर मान्छेको टाउकोमा लाग्यो । गहिरो खोचमै भएको भए पनि प्रहरीले गरेको हवाइ फायर नै गर्ने उद्देश्यले हानेको गोली सिधै मान्छेको टाउकोमा कदापी लाग्दैन । पहिलो त तराईको भूगोल, दोस्रो हवाई फायर गर्न पक्का पनि केही मिटरको दुरीमा प्रहरी र प्रदर्शनकारी भएको ठाउँ । यस्तोमा जति हवाइ फायर गर्दा पनि मान्छेको टाउकोमा लाग्न सक्दैन । यो त मान्छेको भिडमै तोकेर गोली हानेको पक्का हुन्छ । अर्को हवाई फायर खाली ठाउँतिर हान्ने हो न कि प्रदर्शनकारीको भिडभाडमा । यो त सरासर सोह्रै आना झुट रहेको पक्का छ । त्यही झुटलाई गृहमन्त्री थापाले निकै हास्यास्पद शैलीमा संसदमा बोलेको देखिन्छ ।

प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण भएपछि प्रहरीले हवाई फायर गरेको उनले बताए । गृहमन्त्री थापाले भने, ‘प्रदर्शनकारी उचाइमा थिए, प्रहरी गहिरोमा थियो । त्यसैले हवाई फायर गर्दा चलेको गोली लाग्यो ।’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री थापाले पौडेलको हत्या नभई दोहोरो भिडन्तमा निधन भएको बताएका हुन् । नेपाली कांग्रेससहितका विपक्षी दलहका सांसदले उनलाई नियन्त्रणमा लिएर हत्या भएको कुरा आएको भन्दै त्यसमा जवाफ मागेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री थापाले जनताको जीउ धनको सुरक्षा गर्न खोज्दा घटना भएको बताएका हुन् ।

विप्लव नेता पौडेलको असार पाँच गते मृत्यु भएको थियो ।

 

यो पनि पढ्नुहोस्

कुमार पौडेलको अन्तिम सस्कारको तयारी, हत्यामा संलग्नहरुको पहिचान भएको परिवारको खुलासा

 

भिडन्तमा कुमारको ज्यान नगएको पूर्व गृहमन्त्रीको कडा टिप्पणी : सोमवार गृहमन्त्रीले जवाफ दिने

 

सर्लाहीमा आइतवार पनि चल्यो गोली : प्रहरीको गोलीबाट १ को मृत्यु, झडपमा ११ घाइते

 

विप्लवका सर्लाही इन्चार्जको मृत्युबारे गृहमन्त्रीले खोले मुख, संसदीय समितिमा बादलले दिए बयान

 

सर्लाही जिल्ला इन्चार्जको ज्यान गएपछि बदला लिने विप्लव नेकपाको चेतावनी : हेर्नुस विज्ञप्ति

 

पौडेल हत्याको बदला लिने विप्लवको चेतावनी, असार १० नेपाल बन्दको घोषणा

 

विप्लवका सर्लाही इन्चार्जको ज्यान गयो

 

Loading...