बाढीले बगाएको डाइभर्सन बनेसँगै सामान ढुवानी शुरु

पोखरा २५ असार । विजयपुर खोलामा राखिएको डाइभर्सन गत आइतबार राति बगाएसँगै अवरुद्ध बनेको मालसामान ढुवानी सञ्चालन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी सिएमसीको सहयोगमा डाइभर्सन तयार भएपछि मङ्गलबार रातिदेखि मालसामान ढुवानी शुरु गरिएको हो ।

डाइभर्सन नहुँदा पोखरामा ल्याइने सामग्रीका साथै विमानस्थल निर्माणका सामग्री पनि रोकिएका थिए । ड्राइभर्सन तयार भएपछि गए रातिदेखि मालवाहक गाडी आवतजावत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए । चिनियाँ सिएएमसी इञ्जिनीयरिङ कम्पनी र सडक डिभिजन कार्यालय पोखराले संयुक्तरूपमा २४ घण्टाभित्रै डाइभर्सनको पुनःनिर्माणको काम सम्पन्न गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साँझ विजयपुर पुगी बगेको डाइभर्सन अवलोकन गरी सिएमसीका प्रतिनिधिसँग कुराकानी गरेको र निर्माणका लागि आग्रह गरेका थिए । उक्त स्थानमा ११ वर्षअघि निर्मित पक्की पुल सात ठाउँमा चर्केर जोखिमयुक्त भएपछि मालवाहक गाडी डाइभर्सनबाट आवतजावत गर्दै आएका थिए ।

हाल स्टिलब्रिज रहेकोे स्थान नजिकै बेलिब्रिज निर्माणको काम भइरहेको छ । विजयपुर पुल हुँदै दैनिक पाँच हजारभन्दा बढी गाडी आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मिश्रले जानकारी दिए।

Loading...