राप्तीमा बगेका चारै जनाको प्रहरीले गर्यो उद्धार

मकवानपुर, २५ असार । हेटौंडामा रहेको राप्ती खोलामा आएको बाढीले बगाएको ४ जनाको प्रहरीले उद्धार गरेको छ ।

बुधबार अविरल वर्षासँगै आएको बाढीले कमानेकी २० वर्षीय कविता तामाङसहीत ४ जनालाई बगाएकोमा ४ जनाकै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका ईन्स्पेक्टर अनिश बुढाथोकीले लालखबरलाई बताए ।

४ जनामध्ये कवितालाई हेटौंडा अस्पतालमा उपचारको लागि लगिसकिएको छ भने बाँकी ३ जनाको उद्धार गरि हेटौंडा अस्पताल लान लागिएको ईन्स्पेक्टर बुढाथोकीले बताउँदै उनीहरुको पहिचान खुल्न बाँकी रहेको जानकारी दिए ।

भरतपुरका पुरिएका भण्डारीको उद्धार

यसैबीच मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पहिराले पुरिएका एक जनाको प्रहरीले उद्धार गरेको छ । प्रहरीले चितवन भरतपुर नगरपालिकाका २१ वर्षीय प्रमोद भण्डारीको उद्धार गरेको हो ।

जितपुर भन्ज्याङमा पहिरोले परिएका भण्डारीको उद्धार गरि स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले लालखबरलाई बताए ।

वर्षायामसँगै मकवानपुरमा आउने विपदहरुबाट हुने समस्याहरुका लागि तुरुन्त प्रहरीमा खबर गर्नका लागि आग्रह गर्दै एसपी सिंहले जिल्ला प्रहरी कार्यालय, मकवानपुर, प्रदेश प्रहरीसँग समन्वय गरि उद्धारका लागि हरेक स्थानिय तहमा खटिएका प्रहरीहरुलाई निर्देशन समेत दिएको जानकारी दिए ।

Loading...