बालिकाको ज्यान गएपछि ३५ लाखको सामान नाश, सर्पदंश उपचार केन्द्र बन्द

सर्लाही, २४ असार । सर्लाहीको लालबन्दी- १नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सोमबार सर्पले डसेकी बालिकाको उपचारको क्रममै मृत्यु भएपछि तोडफोड भएको छ । केन्द्रको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित भीडले तोडफोड गरेको हो ।

हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदालाई सोमबार साँझ सर्पले डसेपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै आक्रोशित आफन्त सहितको समूहले अस्पतालमा तोडफोड गरेका हुन् ।

बालिकालाई अस्पतालमा ल्याउनेबित्तिकै उपचारमा संलग्न एक मात्र स्वास्थ्यकर्मीले मादक पदार्थ सेवन गरेको र अन्य स्वास्थ्यकर्मी बोलाउँदा समेत समयमै नआएकाले बालिका को मृत्यु भएको भन्दै आफन्त एवम् अन्य स्थानीयले आक्रोश व्यक्त गर्दै अस्पतालमा रहेका सामान तथा बिधुतिय उपकरणमा तोड्फोड गरेका छन् ।

घटना घटेपछि उपचार केन्द्रमा पुगेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले छानबिन समिति गठन गर्ने घटनाको बारेमा सत्य तथ्य छानबिन गर्ने प्रतिबद्धता जनाएपछि आफन्तले राति १ बजे शव बुझेको हरिवन नगररपालिका मेयर गणेश प्रसाईंले जानकारी दिए ।

‘अस्पतालका कर्मचारीले मादक पदार्थ सेवन गरेको र बाहिर रहेका डाक्टरसमेत बोलाउँदा समयमै नआएको भन्ने मृतकका आफन्त एवम् स्थानीयबाट गुनासो आएको छ ।’ घटना घटेपछि उपचार केन्द्रमा पुगेका मेयर प्रसाईंले भने ।

‘सर्पदंशजस्तो उपचार गर्ने संवेदनशील संस्थामा व्यवस्थित ब्यबस्थापनको काम नभएको देखियो र पिडितले पनि दोषीलाई  कार्बाहीको माग राख्नु जायज भएपनी तोडफोडमा उतनु दुखद हो । उनले भने ।

तोडफोडबाट भेण्टिलेटर तथा आइसियूको मोनिटरलगायत उपकरण एवम् भवनका झ्यालका सिसाहरुमा क्षति पुगेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष बोधराज काफ्लेले जानकारी दिए ।

‘ठूलो दुःख गरेर भेन्टिलेटर तथा आइसियू जडान गरिएको थियो।” अध्यक्ष काफ्लेले भने । ‘अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सामान तोडफोड भएको छ । अब अस्पताल सञ्चालन नै गर्न नसकिने अवस्था आएको छ।’ उनले नन स्टपखबरसंग भने । चिकित्सक अर्जुन लामालगायत स्वास्थ्यकर्मीको टोलीमाथि कुटपिट भएको उनको भनाइ छ। 

सर्पले दुई ठाउँमा डसेको र सानी बालिका भएकाले उपचारमा जति प्रयास गरे पनि बचाउन नसकिएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अध्यक्ष काफ्लेले दाबी गरेका छन ।

सर्पदंशको प्राथमिक उपचार मात्र हुँदै आइरहेको नवलपुर स्वास्थ्यचौकीमा गत एक महिना अघि मात्र प्रदेश सरकारको ३० लाख तथा लालबन्दी नगरपालिकाको ५ लाख गरी ३५ लाख रुपैयाँ खर्च गरेर आइसियू एवम् भेन्टिलेटर जडान गरिएको थियो।

सोमबार रातिको तोडफोड एवम् स्वास्थ्यकर्मीमाथिको कुटपिटका कारण उपचार सेवा बन्द भएको अध्यक्ष काफ्लेले जानकारी दिए ।

२०६७ सालमा श्रीमद भागबत माहपुराण लगाएर संकलित ६५ लाख रुपैया बाट भवन निर्माण गरि २०७० श्रावण महिना देखि नेपाली सेनाको प्राबिधिक सहयोगमा केन्द्र बाट सर्पदंशबाट टोकेका बिरामी को उपचार गरिदै आएको थियो ।
हाल गत जेष्ठ मसान्तसम्ममा ४ हजार भन्दा बढीको सफल उपचार गरेको मा ३ जना को मृत्यु भएको थियो तर यस्तो घटना घटेको थिएन । यो घटनामा दुबै पक्ष दोषी भएको स्थानीयको भनाइ छ ।

“नभई नहुने र पछि पनि चाहिने चिज हो बालिका मरेर गईन तर दुख गरेर बनाएको र जोडेको चिजमा तोडफोड गर्नु हुदैन्थ्यो । एक प्रत्यक्षदर्शीले नाम नबताउने सर्तमा भने ।

उपचारमा संलग्न स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

Loading...