अख्तियारको जालमा परे एउटै कार्यालयका तीन कर्मचारी

बारा ।  पचरौता नगरपालिकाका इन्जिनियर राम प्रकाश सतरासमेत ३ जना घुस रकम सहित अख्तियारको फन्दामा परेका छन् । उनीहरूलाई मंगलवार नियन्त्रणमा लिइएको हो ।

 ईन्जिनियर राम प्रकाश सतराले पचरौता नगरपालिकास्थित विद्यालयका कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुुुस मागेपछि अख्तियारको फन्दामा परेका हुन ।

त्यसैगरी सोही नगरपालिकाका नायव सुब्बा बद्रीबहादुर थापाले महिला सशक्तीकरणसम्बन्धी अनुशिक्षण तालिम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी घुस मागेपछि उनलाई पनि  अख्तियारले नियन्त्रणमा लिएको बताइएको छ । त्यस्तै कार्यालय सहयोगी ध्रुव महतो पनि समातिएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडा, मकवानपुरबाट खटिई गएको टोलीले इन्जिनियर राम प्रकाश सतरा र कार्यालय सहयोगी धुव्र महतोलाई सम्बन्धित सेवाग्राहीसँग रू.१५,०००।–(पन्ध्र हजार) लिएको अवस्थामा पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाको भनाइ छ ।  नायव सुब्बा बद्रीबहादुर थापापनि सम्बन्धित सेवाग्राहीसँग रू.१४,०००।–(चौध हजार) घुसवापतको रकम लिइसकेको अवस्थामा पक्राउ परेको कोइरालाले बताए ।

उनीहरूलाई  घुस रकम सहित नगरपालिकाको कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको  प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Loading...