अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई अर्को ऐतिहासिक सफलता

हंगकंगलाई सहजै पराजित गर्दै नेपाल अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने अन्डर -१९ एसिया कप खेल्न छनौट भएको छ। प्रतियोगिताको २०१७ संस्करण पनि नेपालले फाइनलमा हंगकंगलाई ५ विकेटले पराजित गर्दै जितेको थियो।

किनरारा ओभल मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको हंगकंगले पहिले ब्याटिंग गर्दै मात्र ९६ रनको लक्ष्य दिएको थियो। ९७ रनको लक्ष्य नेपालले सहजै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर पवन सर्राफ र रित गौतमले ५२ रनको साझेदारी गरेका थिए। रित सातौँ ओभरमा १३ रन बनाएर आउट भए। त्यसपछि पवन र खडक बोहराले इनिंगलाई अघि बढाए।

खेलको १२ औं ओभरमा पवन व्यक्तिगत ३९ रन जोड्दै आउटहुँदा नेपालले ७६ रन जोडेको थियो। पवनको विकेट लगत्तै खडक समेत पभेलियन फर्किए। उनले व्यक्तिगत ८ रनको योगदान गरे।

नेपालले खेल जित्न ३ रन बाँकी रहंदा कप्तान रोहित पौडेलको समेत विकेट गुमायो। व्यक्तिगत १२ रन जोडेका रोहित ठूलो सट प्रहार गर्दै खेल सकाउने चक्करमा क्याच आउट भए। रोहित पभेलियन फर्किए पश्चात भिम शार्की ( ८ *) र हरि चौहान ( ०*) ले नेपाललाई जितसम्म पुर्याए।

प्रतियोगिता अन्तरगत नेपालले समुह चरणमा चिनलाई १० विकेटले र सिंगापुरलाई २१७ रनले पराजित गर्दै सेमीफाइनल पुगेको थियो। सेमीफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको थियो।

अन्डर-१९  एसिया कप खेल्न छनौट 

२८ अगस्ट देखि ८ सेप्टेम्बरसम्म आयोजना हुने प्रतियोगितामा कुल ८ राष्ट्र सहभागी हुने छन्। एसियाली टेस्ट राष्ट्र श्रीलंका, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान सहित युएई, कुवेत प्रतियोगितामा सहभागी हुनेछन्। यस्तै नेपाल सन् २०२० नोभेम्बरमा युएईमा आयोजना हुने यु-१९ एसिया कप खेल्न पनि छनौट भएको छ। एसीसीले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार उप-विजेता हंगकंगले यो पटक मौका नपाए पनि अर्को वर्षको यु-१९ एसिया कप खेल्न भने मौका पाउनेछ।

सागरको उत्कृस्ट बलिंग 

किनरारा ओभल मैदानमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको हंगकंगले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सकेको थियो।

हंगकंगको लागि कप्तान अदित गोरावराले सर्वाधिक २४, कल्हन चल्लुले १९ तथा रौन कपुरले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिंगमा सागर ढकाल एक्लैले ५ विकेट लिन १० ओभरमा ५ मेडन ओभर गर्दै मात्र १८ रन खर्चिए। सागरले हंगकंगको सुरुवाती ५ विकेट लिएका थिए। यस्तै पेस बलर कमल सिंह ऐरीले ३ विकेट लिए भने कुशल मल्ल  र टिकल राज भण्डारीले  १/१ विकेट लिए।

प्रतियोगितामा यस अघि सागरले चिनसंग ६ विकेट, सिंगापुरसंग १ विकेट तथा मलेसियासंग ३ विकेट लिएका थिए। आज लिएको ५ विकेट सहित कुल १५ विकेट लिंदै सागर प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेका छन्

Loading...