हिसानका अध्यक्ष सिलवाललाई राजनीतिक नियुक्ति दिइयो

सर्लाही, २३ असार । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्ति गरेको छ । निवर्तमान सदस्य सचिव केशव विस्टको ४ वर्षको कार्यकाल असार ९ गते सकिएपछि उनको स्थानमा सिलवाल नियुक्त भएका हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सदस्य सचिवमा सिलवाललाई नियुक्त गरेको हो । गोल्डेन गेट कलेजको संचालकसमेत रहेका सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । तत्कालीन एमालेको भातृसंगठन प्रजातान्त्रिक युवासंघमा ओली अध्यक्ष रहँदा सिलवालले सचिव भएर काम गरेका थिए ।

प्रधानमन्त्रीकै जोडबलमा उनलाई उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्यमा नियुक्ति गरिएको थियो । सिलवाल हाल उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष समेत रहेका छन् ।

यसैगरी सिलवाल नेकपा निकट मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्षसमेत रहीसकेका छन् । 

Loading...