असार जान लाग्दा समेत सर्लाहीमा रोपाई हुन सकेन

सर्लाही, २३ असार । असार महिनाको अन्तिम भैसक्दा पनि सर्लाहीमा रोपाई हुन सकेको छैन । समयमै वर्षा नभएपछि यो वर्ष रोपाई हुन नसकेको हो । 

जिल्लाका उत्तरी क्षेत्रमा आकाशे पानीको भरमा रोपाई गरिन्छ भने दक्षिणी क्षेत्रमा आकासे पानीका साथै नहरको सिचाईबाट रोपाई हुने गर्दछ । यो वर्ष आकाशे पानीको भर परेका किसानहरु पानी नपरेपछि चिन्तित बनेका छन् । पानी नभएपछि धान रोप्नुपर्ने खेतहरु अझै बाख्रा चराउने मैदान बनेका छन् ।

दक्षिणी भेगका केहि क्षेत्रमा नहरको पानीबाट सिंचाई हुने भएपनि सिंचाई आयोजनाले पानी नछोड्दा अप्ठ्यारो परेको किसानहरु बताउछन । जिल्लामा भएको वागमती सिंचाई आयोजनाले नहरमा पानी नछोडेपछि सर्लाहीमा रोपाइँ हुन नसकेको हो ।

आयोजनाको चरम लापर्वाहीका कारण असारको अन्तिम साता भइसक्दा पनि आफूहरुले अहिलेसम्म रोपाइँ गर्न नपाएको किसानहरुको गुनासो रहेको छ । यसरी आयोजनाले समयमै नहरमा पानी नछोड्दा किसानको धान रोपाइँ प्रभावित हुनुका साथै खेतमा रहेको धानको बीउ डढ्न थालेको दक्षिण भेग हरिपुर- ४ पिडारीका सुरज सिंह दनुवारले गुनासो गरे ।

”आकाशबाट पानी नपरेकाले खेतमा रोप्न राखेको धानाको बीउ मरेर सकियो, अब कहाँबाट बीउ ल्याएर रोप्नु रु खेत बाँझो हुने भयो ।” जिल्लाको उत्तरी भेग हरिवन, सासापुरका किसान रामगनेश चौधरी भने ।

बागमती सिंचाई आयोजनाको मूल नहर र बाँधमा मर्मतको काम भइरहेकाले पानी छोड्न नसकिएको आयोजना प्रमुख विनयकुमार गामी बताउछन । अहिले मर्मतको काम अन्तिम चरणमा पुगेकाले अबको दुइ तीन दिनमा नहरमा पानी छोड्ने र नदीमा पानीको सतह कम भएकाले पालैपालो गरी पानीको व्यवस्था गर्ने आयोजना प्रमुखको भनाइ छ ।

जिल्लामा बागमती सिंचाई आयोजना र मनुष्मारा सिंचाई आयोजना गरी दुइ वटा ठूला सिँचाइ आयोजना सञ्चालनमा रहेका छन् । बागमती सिँचाइ आयोजनाले जिल्लाको ठूलो खेतियोग्य जग्गामा सिँचाइ सुविधा र्पुयाएको छ भने मनुष्माराले दक्षिणी क्षेत्रमा सिँचाइ सुविधा र्पुयाएको छ। यस वर्ष वागमती सिँचाइ अयोजनाको लापर्वाहीका कारण किसानले अहिलेसम्म पनि धान रोपाई गर्न नपाएको हरिपुर-१की किसान सोमकुमारी कार्कीले बताइन । त्यसैगरी श्रीपुरका किसानहरुले अब पनि सिँचाइले नहरमा पानी नछोडे अन्दोलन गर्ने चेतावली दिएका छन् । बजेट सक्याउन असारमा आएर मर्मतको नाटक गरेको किसानहरुको आरोप छ । सर्लाहीमा असार लागेदेखि नै राम्रोसँग पानी नपर्दा किसानलाइ धानको बीउ जोगाउन मुस्किल परेको छ ।

यस वर्ष सर्लाहीमा ४२ हजार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाई हुने कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । झण्डै एक तिहाइ खेतको धान रोपाई गरिसक्नु पर्ने बेलामा यो वर्ष रोपाई शुरू नभएपछि धान उत्पादन घट्ने अनुमान गरिएको छ ।

Loading...