ब्राजिल कोपा अमेरिका च्याम्पियन !

एजेन्सी । ब्राजिलले आइतबार आफ्नै भूमिमा भएकोे कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा पेरुलाई ३–१ ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो । ब्राजिलको जितमा फरवार्ड ग्याब्रीएल जेससले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका पनि निभाए ।

खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो । फरवार्ड ग्यब्रीएल जेससले दिएको पासमा एभरटनले भली प्रहार गर्दै गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको एक मिनेटमा नै जेससले आर्थरको पासमा गोल गरे ।

दोस्रो हाफको ७० औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । जेससले कार्ड खाएर मैदान बाहिरिने क्रममा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मोनिटरलाई धकेलेका थिए । तर रिचारलीसनले अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे ।

ब्राजिलको यो समग्रमा नवौं कोपा अमेरिका उपाधि हो । ब्राजिलले प्रतियोगिता आयोजना गरेको हरेक पटक उपाधि जितेको इतिहास रहेको छ ।

Loading...