अमेरिकामा ७.१ रेक्टर स्केलको अर्को शक्तिशाली भुकम्प, क्षति आकलन हुँदै

भूकम्प

दक्षिणी क्यालिफोर्नियामा दुई दिनभित्र दोस्रो शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ।

अमेरिकी भूगर्भसम्बन्धी निकाय युएसजीएसका अनुसार स्थानीय समय अनुसार शुक्रवार राति सवा आठ तिर आएको पछिल्लो झट्का ७.१ म्याग्निच्युडको रहेको छ।

यसअघि बिहीवारको भूकम्प ६.४ म्याग्निच्युडको थियो।

दोस्रो भूकम्पको केन्द्रविन्दु पनि लस एन्जलस शहरभन्दा करिब अढाइ सय किलोमिटर उत्तरमा रहेको रिजक्रेस्ट नगर नजिक रहेको जनाइएको छ।

क्षति कति?

हालसम्म गम्भीर प्रकृतिका कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएका छैनन्।

पर्खालमा चिरा परेको, शिशा फुटेको अनि ग्यास पाइप फुटेका जस्ता घटना भएका छन्।

विज्ञहरूका अनुसार बिहीवारको झट्का शुक्रवारको झट्काको पूर्व कम्पन थियो। यी भूकम्पसँगै थुप्रै परकम्प आइरहेको बताइएको छ।

लस एन्जलसको अग्निनियन्त्रण विभागका अधिकारीहरूका अनुसार भूकम्पपछि गरिएका प्रारम्भिक सर्वेक्षणहरूमा कतै ठूलो पूर्वाधार क्षति भएको पाइएन।

भूकम्प

तर पछिल्लो कम्पनपछि केही स्थानीय स्तरमा बिजुली गएको विवरण आएका छन्।

“एकदम डरलाग्दो थियो। अझै रोकिएको छैन,” एक स्थानीय बासिन्दा जेरेमिया जोन्सले लस एन्जलस टाइम्सलाई बताए।

क्यालिफोर्नियामा भूकम्पको जोखिम कति

क्यालिफोर्निया राज्य भूकम्पको उच्च जोखिममा रहेको मानिन्छ।

त्यहाँको जमिन मुनि धेरै धाँजाहरू रहेका छन् जहाँ टेक्टोनिक प्लेटहरू टकराइरहन्छन्।

भूकम्पविद् लुसी जोन्सका अनुसार हाल भूकम्प उत्पन्न भएको धाँजा करिब ३० माइल लामो हुन सक्छ।

“यो धाँजा अझै लम्बिँदैछ। पहिलो भूकम्पले केही धाँजा फाट्यो..दोस्रोका कारण अझ धेरै फाट्यो,” उनले भनिन्।

सो क्षेत्रमा स्यान एन्ड्रियाज धाँजा सबैभन्दा लामो मानिन्छ जुन करिब १२ सय किलोमिटर लामो छ।

विविसि नेपाली

Loading...