बिहानै मालवाहक ट्रक त्रिशुलीमा खस्दा ट्रकका मालिक र चालकको मृत्यु

चितवन, २० असार । चितवनको चुम्लिङटार नजिकै एउटा ट्रक त्रिशुली नदीमा खसेको छ । आज बिहानै करिब ६ बजेको समयमा उक्त  ट्रक एकाएक त्रिशुली नदीमा खसेको हो ।

प्रहरीले उक्त ट्रक सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको जनाएको छ । मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक शुक्रबार बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा परी बालकिसोर यादव र रविकान्त यादव नाम गरेका व्यक्तिको ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । प्रहरीका अनुसार रविकान्त सोही ट्रकका मालिक हुन भने बालकिसोर चालक हुन् ।

प्रहरीले दुर्घटनामा घाइते भएका एक जनाको उद्धार गरेको जनाएको छ । उद्धारपछि उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको छ ।

ट्रक सडकबाट त्रिशूली नदीमा कसरी खस्यो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...