मानव तस्करको जालमा परी युरोप छिर्न त्रिपोली पुगेका श्रेष्ठ लिबियाको युद्धमा मारिए

काठमाडौं, १९ असार । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएको छ ।

आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले दिएको जानकारी अनुसार मारिनेमा सन्तोष श्रेष्ठ नाम गरेका एक नेपाली हुन । आईओएमले श्रेष्ठ हिरासत केन्द्रमा भएको आक्रमणमा घाइते भएका थिए । घाइते भएका श्रेष्ठलाइ उपचारका लागि अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममै मृत्यु भएको हो ।

कायरोस्थित नेपाली दूतावासका अनुसार श्रेष्ठको नेपालको स्थायी ठेगाना कहाँ हो र उनी कसरी लिबिया आइपुगे भन्ने केही खुलेको छैन । यसबारे कायरोस्थित दुतावासले अध्ययन गरिरहेको जनाएको छ ।

तर, बुझिए अनुसार उनी बिभिन्न देशको अवैध बाटो हुँदै युरोप छिर्न त्यहाँ पुगेका थिए । युरोपेली मुलुक इटाली जान लागेका श्रेष्ठ अन्ततः युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका हुन्।

२७ वर्षीय सन्तोष श्रेष्ठ मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेको बुझिएको छ । लिबियामा पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ।

उक्त आक्रमणमा नेपाली युवा श्रेष्ठसहित अन्य धेरै शरणार्थी तथा आप्रवासीको समेत मृत्यु भएको बताइएको छ । त्रिपोलीमा भेटिएका उनै श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो।

यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको थियो। अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमै छन्। उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले एक विज्ञप्ति जारी गरेर बताएको छ।

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ।

Loading...