सास्कृतिक नगरी भक्तपुरमा ‘भक्तपुर महोत्सव’को आयोजना गरिदै

भक्तपुर, १६ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवको आयोजना गर्न लागेको खुलासा गरेका छन् । भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित नगरपालिकाले भक्तपुर महोत्सवको आयोजना गर्ने योजना बनाएको उनले बताएका हुन् ।

सोमबार भक्तपुर नगरभित्रका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूसंगको छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर महोत्सवले राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमै भक्तपुरको पहिचान बढाउने विस्वास व्यक्त गरे ।

पर्यटकहरूको बसाई लम्ब्याउनका लागि साँझको समयमा ठाउँ–ठाउँमा सांस्कृतिक गतिविधिहरू सञ्चालनको व्यवस्था मिलाउने र सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना गरी पर्यटकलाई आकर्षित गर्ने उनले योजना सुनाए । त्यतिमात्र होइन, नगर प्रमुख प्रजापतिले भक्तपुरको जीवनशैली, रहनसहन र सँस्कृति झल्किने सांस्कृतिक संग्रहालयको व्यवस्था गरिने प्रतिबद्धता समेत प्रकट गरे ।

उनले भक्तपुर घुम्न आउने पर्यटकहरूको सुविधाको लागि पर्यटकीय क्षेत्रहरूमा स्तरीय शौचालय, हारियाली प्रवर्धन, सम्पदा क्षेत्र र पर्यटकीय स्थलहरूमा सन्ध्याकालीन बत्तीको बन्दोबस्त गरी थप आकर्षण बढाउने लगायतका योजना समेत सार्वजनिक गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पर्यटन व्यवसायमा सांस्कृतिक संरक्षणको महत्वबारे प्रस्ट पार्दै भक्तपुर नगरपालिकाले स्थानीय युवाहरूलाई चिनियाँ, जापानी, अंग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको तालिम सञ्चालन गरिरहेको जानकारी गराइन ।
उक्त अवसरमा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले आर्थिक वर्षको नीति तथा कार्यक्रममा भक्तपुर महोत्सव गर्ने तयारी रहेको जानकारी गराउदै महोत्सवलाई प्रभावकारी रुपमा सञ्चालन गर्न होटल–व्यवसायीहरूसँगको छलफललाई निरन्तरता दिइने बताए ।

कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले र पर्यटन सेवा केन्द्र प्रमुख गौतमप्रसाद लासिवाले पनि पर्यटन प्रवर्धनका विषयमा आफ्नो धारणा राखेका थिए ।त्यसैगरी नगरभित्रका होटल र रेष्टुरेन्ट भेलामा उपस्थित व्यवसायीमध्ये प्रकाशमोहन धौभडेल, डा. माधवसुन्दर मल्ल, कृष्णसुन्दर खाइतु, सत्यराम सुवाल, कैलाश धौबञ्जार, साजन लघुले भक्तपुरमा हरियाली व्यवस्थापन गर्न, मयुर नाच र परम्परगत नाचहरूलाई जीवन्त बनाइराख्न, युवाहरूलाई सीपमूलक तालिम सञ्चालन गर्न, भक्तपुरको गाइजात्रा र अष्टमातृका रुटको प्रवद्र्धन गर्न,सरसफाइलाई थप व्यवस्थित बनाउन र आन्तरिक पर्यटकलाई पनि प्राथमिकता दिएर योजना बनाउन लगायत सुझाव दिएका थिए  ।

Loading...