लोकसेवाको तयारीमा रहेकालाई दुखको खबर, सरकारी सेवा प्रवेशको उमेर घटाउन प्रस्ताव पेश

काठमाडौं, १६ असार । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी सेवामा प्रवेशको उमेर घटाउन प्रस्ताव गरेको छ । समितिले सरकारी सेवामा प्रवेशको अधिकतम उमेर ५ वर्ष घटाउन प्रस्ताव गरेको हो ।

अहिलेसम्म पुरुषले ३५ वर्षभित्र र महिलाले ४० वर्षभित्र सेवा प्रवेश पाउँछन् । उक्त उमेर घटाएर समितिले पुरुषलाई ३० वर्ष महिलालाई ३५ वर्ष बनाउन प्रस्ताव गरेको छ । अपांगता भएकाको हकमा ३५ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

त्यतिमात्र होइन, समितिले सेवा प्रवेशको न्युनतम उमेर समेत घटाउन प्रस्ताव गरेको छ । १६ वर्षकै उमेरमा सेवा प्रवेश गर्न पाउनुपर्ने प्रस्ताव गरिएको हो ।

अहिले राजपत्र अनंकित वा सो सरहको हकमा न्यूनतम उमेर १८ वर्ष राजपत्रांकित वा सो सरहको हकमा २१ वर्ष सेवा प्रवेशको उमेर रहेको छ ।१६ वर्षमै नागरिकता पाइने भएकाले सरकारी सेवामा पनि सोही उमेरदेखि प्रवेश पाउनुपर्ने सांसदहरुको मत देखिएपछि यस्तो प्रस्ताव गरिएको समितिकी सभापति शशि श्रेष्ठको भनाइ छ ।

यस विषयमा अन्य कानुन बाझिए–नबाझिएको हेरेर उक्त व्यवस्था गर्न समितिकी सभापति शशी श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएकी छिन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकको दफा १३ मा रहेको ‘उम्मेदवार हुनका लागि अयोग्यता’ माथि दफावार छलफल गर्दै सांसदहरुले लोकसेवा प्रवेशको न्यूनतमदेखि अधिकतम उमेरसम्म घटाउने प्रस्ताव गरेका थिए ।

Loading...