एसइइ परीक्षाफलमा फेरिपनि प्रश्न, हजारौ विद्यार्थीको नतिजा रातारात मिलाइयो

भक्तपुर, १३ असार । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजामा त्रुटी फेला परेको छ । अघिल्लो वर्ष परीक्षाफल परिमार्जन गरि प्रकाशित गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले यसपटक पनि परीक्षाफल प्रकाशनमा गल्ती गरेको पाइएको छ ।

विहीवार परीक्षाफल प्रकाशन गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले कतिपय परीक्षार्थीको एउटा विषय नै गायव गरेर परीक्षाफल प्रकाशित गरेको पाइएको हो ।

आठ विषयको परीक्षा दिएको भएता पनि एक विषय बिना नै परीक्षाफल प्राप्त भएपछी विद्यार्थी तथा अभिभावकहरु चिन्तित बनेका छन भने विद्यालयको लागि यो टाउको दुखाइको विषय बनेको छ । ”विद्यार्थी र अभिभावकलाई कन्भिन्स गर्न गाह्रो भैरहेको छ ।” एक विद्यालयका प्रधानाध्यापकले ननस्टपखबर संग भने ।

यसरी एउटा विषय नै गायव भएर कुनै एउटा विद्यालयका विद्यार्थीहरुको मात्र नतिजा आएको होइन, देशभरका हजारौ विद्यार्थीको नतिजाको हालत यहि भएको छ ।

ऐच्छिक विषय अन्तर्गत ऐच्छिक प्रथम विषयको रुपमा ‘वातावरण विज्ञान’ लिएर परीक्षामा सामेल सबै विद्यार्थी यतिबेला विचल्लीमा परेका छन । उनीहरु सबैको उक्त विषयको परीक्षाफल बिना नै नतिजा निकालिएको छ ।

इन्टरनेट मार्फत उपलब्ध हुने ग्रेड सीटमा ‘वातावरण विज्ञान’ विषयको नतिजा छैन तरपनि अनुपस्थित वा स्थगन गरिएको भनिएको छैन नतिजामा ‘कम्प्लिटेड’ भनेर भनिएको छ र जीपीए पनि दिइएको देखिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु अधिकारीले भने यो प्राविधिक समस्या भएको र यसलाई समाधान गरिसकिएको दावी गरे । ” एनटीसीमा कोड नम्बर हाइड हुदा हिजो यस्तो समस्या भएछ, यो परीक्षाफलको समस्या होइन , प्राविधिक समस्या हो अहिले समाधान भैसक्यो ।” परीक्षा नियन्त्रक अधिकारीले स्पस्ट पारे । तर, विद्यार्थीहरु भने पछि विषय थपिए पछि जीपीए पनि थपिनुपर्ने बताउँछन् । ”पनिकाको चाला हेर्दा आफूले पाएको जीपीए प्रति सन्तुष्ट हुने ठाउँ देखिदैन, रिटोटलिङ्ग गरेर हेर्नुपर्ने बाध्यता आइलाग्यो ।” पिडित एक विद्यार्थीले बताए । परीक्षा नियन्त्रक अधिकारीले भने जीपीए पाइसकेपछि भ्रमित बन्नु नहुने भन्दै आठै विषयको आधारमा जीपीए दिइएको जिकिर गरे ।

पछिल्लो समय सूचना संचारमा भएको विकाश संगै पनिकाको गल्ती कमजोरी बाहिर आउन थालेपछि त्यसबाट सिक्नुको साटो भाग्ने प्रवित्तिले कर्मचारीतन्त्रले काम गरिरहेको देखिन्छ । अघिल्लो वर्षको गल्ती बाहिरिएपछि पनिका परीक्षाफल परिमार्जन गर्न बाध्य बनेको थियो र तत्कालिन परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका थिए । यसपटक विगतको जस्तो गल्ती हुने डरले सेवा प्रदायक कम्पनीहरुमाथि सिन्डिकेट गर्दै सरकारी निकाय नेपाल टेलिकमलाइ विषयगत नतिजा देखाउने जिम्मेवारी दिइएको थियो तथापी काममा भन्दा ढाकछोपमा ध्यानदिने कर्मचारीतन्त्रका कारण यसपटक पनि गम्भीर गल्तीहरु बहिरिए ।

परीक्षा जस्तो संबेदनशील विषयमा प्राविधिक कारण बताउदै उम्कने प्रयास उचित नहुने विज्ञहरु बताउछन । यसले लापरवाहीलाइ मलजल गर्ने उनीहरुको दावी छ । स्रोतका अनुसार ऐच्छिक विषयको रुपमा वातावरण विज्ञानको १०० पूर्णाङ्कको परीक्षा फारम भरेर सोही बमोजिम प्रवेशपत्र पाएका हजारौ परीक्षार्थीहरुलाई परीक्षाको दिन ७५ पूर्णाङ्कको प्रश्न पत्र थमाइएको थियो । पछि विवाद भएपछि पनिकाले २५ पूर्णाङ्कको प्राक्टिकल नम्बर पठाइदिन विद्यालयहरुलाई ७ दिने म्याद दिएर सूचना जारी गरेको थियो । संयोगबस परीक्षाफल प्रकाशन हुँदा सोही विषयको नतिजा गायब बनेपछि सरोकारवालाहरु ससंकित देखिए ।

गत चैत १० गतेबाट शुरु भएको २०७५ सालको एसइइ परीक्षाको परीक्षाफल विहीवार सार्वजनिक गरिएको हो । परीक्षामा ४ लाख ५९ हजार २ सय ७५ जना परीक्षार्थी संलग्न थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने बताइएको छ । कोही फेल नहुने भनिए पनि ११ कक्षामा भर्ना हुन जीपीए अनुसार विषय रोज्न पाउने व्यवस्था रहेको छ । कक्षा १२ सम्मलाई माध्यमिक शिक्षामा सामेल गरेको सरकारले कक्षा १० को परीक्षाको रुपमा रहेको एसइइको तामझाम घटाउन नसक्दा यसलाई अझैपनि हाउगुजीकै रुपमा हेर्ने गरिन्छ ।  

Loading...