भ्यागुता लोप हुन नदिन ‘ब्याक्टेरियाको सहयोग’

भ्यागुताको छालामा बस्ने ब्याक्टेरियाले ती उभयचरलाई एउटा प्राणघातक भाइरसबाट जोगाउन सक्ने एउटा अनुसन्धानले देखाएको छ।

एक्सटर विश्वविद्यालय र जूअलोजिकल सोसाइटी अफ लन्डनका वैज्ञानिकहरूले गरेको अनुसन्धानले युरोपमा सामान्य रूपमा पाइने भ्यागुता (युरोपियन कमन फ्रग) जस्ता प्रजातिलाई भाइरसबाट हुने रोगबाट लोप हुने खतराबाट जोगाउन सक्नेछ।

प्राकृतिक रूपमा हुने विभिन्न परिवर्तनका कारण भ्यागुता र अन्य उभयचर नराम्ररी प्रभावित हुन्छन् । झन्डै ४० प्रतिशत प्रजातिहरू सङ्क्रमण, वासस्थानको विनाश र जलवायु परिवर्तनजस्ता कारणले लोप हुने खतरामा परेका छन्।

ब्रिटिश वैज्ञानिकहरूले भ्यागुता कसरी “र्‍यानभाइरस”बाट जोगिन्छन् भनेर अध्ययन गरेका थिए। त्यो भाइरसका कारण यूकेका तलाउमा छोटो अवधिमा ठूलो सङ्ख्यामा भ्यागुताहरू मर्न सक्छन् ।

अध्ययनकर्ताहरूले दक्षिणी इङ्ग्ल्यान्डका विभिन्न क्षेत्रमा पाइने भ्यागुतामा रोगको प्रकोप र भ्यागुताको छालामा हुने ब्याक्टेरियाको संरचनाबीच एउटा सम्बन्ध रहेको पत्ता लगाए । एक्सटर विश्वविद्यालयका डा. लुइस क्याम्पबेका अनुसार रोग लाग्ने र रोगमुक्त हुने भ्यागुता तथा छालामा हुने ब्याक्टेरियाको मिश्रणबीच सहसम्बन्ध छ भन्ने यसले देखाउँछ।

“सम्भवत: भाइरसविरुद्ध यो सहज समाधान हो,” उनले भने। यस अनुसन्धानले पत्ता लगाएको कुराले भ्यागुताहरूलाई भाइरसको सङ्क्रमणबाट जोगाउन सहयोग पुग्ने अनुसन्धानकर्ताको अपेक्षा छ।


छालामा हुने ब्याक्टेरियाले “काइट्रिड फङ्गस” भनिने भनिने विश्वभरिका भ्यागुतामा एक जातको ढुसीका कारण लाग्ने अर्को घातक रोगबाट बचाउन सक्ने आधार भेटिने क्रम बढेको छ।

अनुसन्धानकर्ताहरूले भ्यागुतालाई लाभ पुर्‍याउने भन्ठानिएका ब्याक्टेरियाको मिश्रण विकसित गरिरहेका छन्। उनीहरूको अनुसन्धान “फ्रन्टीर्ज इन माइक्रोबाइओलजी’ नामक जर्नलमा प्रकाशित भइएको छ।

विविसि नेपालीबाट

Loading...