नेमकिपा अधिनायकवादी भएको पूर्वप्रधानमन्त्रीको आरोप : भक्तपुर आएरै दिए अर्ती

भक्तपुर । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टी अधिनायकवादी भएको आरोप लगाएका छन । शनिवार भक्तपुरमै आएर उनले यस्तो आरोप लगाएका हुन् ।

भक्तपुरको सिर्जनानगरमा रहेको भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरद्वारा संचालित सप्ताहव्यापी स्वास्थ्यसम्बन्धी अभिमुखीकरण एवं पाठेघरको परीक्षण शिविर उद्घाटन गर्दै सत्तारुढ दल नेकपाका वरिष्ठ नेतासमेत रहेका नेपालले नेपाल मजदूर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरे । “नारायणमान बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।” उनले भने ।

उनले एकाधिकार कायम गर्न दम्भको घोडामा चढेर हिँड्न नहुने जिकिर गर्दै अरुको अस्तित्व स्वीकार नगर्दा आफ्नै अस्तित्व समाप्त हुने बताए ।

भक्तपुरलाई नेपाल मजदूर किसान पार्टीको आधार क्षेत्र मानिन्छ यद्यपी पछिल्लो समय निर्वाचन क्षेत्र नम्बर- २ बाट उक्त पार्टीले आफ्नो प्रभाव गुमाउदै गएको देखिन्छ । नेकपाले आक्रामक ढंगमा यस क्षेत्रमा संगठन विस्तार गरेको छ भने उक्त क्षेत्रमा विकाश निर्माणका कार्यलाई समेत प्राथमिकता दिएको छ ।

Loading...