लोकसेवाको विज्ञापनबारे आज सुनुवाई हुँदै,

काठमाडौं, ४ असार । लोकसेवा आयोगले गत जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापन विवादबारे अदालतमा परेका सबै निवेदनको आज बुधबार एकैसाथ सुनुवाई हुँदैछ ।

विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको भन्दै ४ वटा रिट निवेदन सर्वोच्चमा परेका छन् । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले लोकसेवा आयोगले निकालेको विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश दिएको थियो ।

सोही आदेशअनुुसार आज सबै निवेदनको आज सुनुवाई गरिने भएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
यता लोक सेवा आयोगले भने स्थानीय तहका विभिन्न पदमा पदपूर्तीका लागि आवेदन दिने समय एक साता थप गरेको छ ।

विज्ञापन विवादबारे लोकसेवाले सर्वोच्च अदालतको निर्णय नै अन्तिम निर्णय हुने बताएको छ । आज हुने लोकसेवाको विज्ञापन विवादबारे सर्वोच्चले के निर्णय गर्ला यो सबैको चासोको विषय बनेको छ ।

Loading...