मध्यपूर्वमा तनावका माझ पेन्टागनको नेतृत्व अनिश्चयमा

तेल ट्याङ्कर

अमेरिकाका कार्यबाहक रक्षामन्त्री प्याट्रिक स्यानाहानले रक्षामन्त्री हुने दौडबाट पारिवारिक कारणबाट अलग्गिएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्यानाहानले परिवारलाई समय दिन चाहेको ट्वीट गरेका छन्।

डिसेम्बरदेखि कार्यबाहक रक्षा मन्त्री रहेका उनले पारिवारिक हिंसाबारे चिन्ताजनक विवरण प्रकाशित भएपछि आफूलाई प्रक्रियाबाट अलग्ग्याएका हुन्।

अनुमोदन प्रक्रियाका बेला आफ्नो जीवनको कष्टपूर्ण पाटो उछालिएको भन्दै उनले आफ्ना सन्तानलाई तिनबाट रक्षा गर्न चाहेको बताए।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार संघीय जाँच ब्युरोले उनी र उनकी पत्नी बीच ९ वर्ष अगाडि भएको एउटा झगडाको घटना छानबिन गरिरहेको छ।

उनले आफूले आफ्नो पूर्व पत्नीमाथि कहिले हात नहालेको बताए।

स्यानाहान

ट्रम्पले ट्वीट गरे लगत्तै वाशिङ्गटन पोस्टले स्यानाहानसँगको अन्तर्वार्ता प्रकाशन गरेको छ जसमा उनले सन् २०११ मा भएको घटनाबारे कुरा गरेका छन्। सो घटनामा उनका त्यतिखेर १७ वर्षका छोराले बेसबलको ब्याटले आमालाई हिर्काएको र टाउको फुटाइदिएको बताइएको छ।

एक विज्ञप्ति प्रकाशित गर्दै स्यानाहानले “निकै पहिलेको एउटा पीडादायी तथा अत्यन्त निजी पारिवारीक विषयलाई उछालेर अपूर्ण तथा गलत तवरले पेश गरिनु दुर्भाग्यपूर्ण” भएको बताए।

परिवारको उक्त पुरानो घाउ फेरि कोट्याएर आफ्ना तीन सन्तानलाई कष्ट दिन नचाहेको उनले बताए।

अनिश्चय

मध्यपूर्वमा अमेरिका र इरानबीच तनाव चर्कँदै गर्दा अमेरिकी रक्षामन्त्रालय पेन्टागनको नेतृत्वबारे विद्यमान अनिश्चय बढेको छ।

यसै साता अमेरिकाले मध्यपूर्वमा थप १ हजार सैनिक पठाउने बताएको थियो।

रक्षा मन्त्रालय पेन्टागनले एक विज्ञप्ति जारी गर्दै उक्त तैनाथीको उद्देश्य जल, थल तथा हवाइ जोखिमहरूलाई सम्बोधन गर्नु रहेको जनाएको थियो।

उक्त विज्ञप्तिमा गत साता ओमानको खाडीमा तेल ट्याङ्करहरूमा भएका दुईवटा आक्रमणका पछाडि इरानको हात रहेको आरोप दोहोर्‍याइएको थियो। तर इरानले ती घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ।

वाशिङ्गटनस्थित सम्वाददाता बार्बरा प्लेट असर भन्छिन्, “प्याट्रिक स्यानाहानले पारिवारिक कारणले आफू अब सो दौडमा नरहेको जनाएका छन्। उनको सो निर्णयका साथै मध्येपूर्वमा बढ्दो तनावका माझ पेन्टागनको नेतृत्वबारे विद्यमान अनिश्चय लम्बिने छ।”

उनको नैतृत्वमा पेन्टागनले इरानलाई प्रतिक्रिया जनाउन मध्यपूर्वमा फौजको तैनाथी बढाएको छ।

तर उनका आलोचकहरूले चाहिँ स्यानाहानले धेरै अधिकार ह्वाइट हाउसलाई नै बुझाएको बताउँछन्।

हालका लागि उनका उत्तराधिकारी मार्क एस्पर रहनेछन्।

अनुमोदन प्रक्रियामार्फत रक्षामन्त्रीको टुङ्गो नलागेसम्म एस्पर नै कार्यबाहक रक्षामन्त्री रहनेछन्।

विविसि नेपालीबाट

Loading...