इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन

ऐजेन्सी । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ । कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढलेका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरुले जनाएका छन् ।

कायरोको एक अदालतमा बेहोस भएर लडेका इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए।

सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए। उनलाई एकान्त कारावासमा राखिएको थियो र उनका परिवार तथा वकिललाई पनि उनीसँग कमै भेट गर्न दिइन्थ्यो । अरब जगतमा भएको जनप्रदर्शनहरूपश्चात् सन् २०१२ मा मोर्सीको उदय भएको थियो।

के भयो अदालतमा ?

मुस्लिम ब्रदरहुडका एकजना प्रवक्ताले मुर्सीलाई उपचार सेवा उपलब्ध नगराइएको बताएका छन्। जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए।

बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए। उनले अदालती कारबाहीमा बाधा नपुर्‍याउन् भनेर त्यस्तो पिँजडामा राखिएको बताइएको थियो। उनको मृत्युको कारण तत्काल बताइएको छैन। तर प्रारम्भिक रिपोर्टमा उनको शरीरमा चोटपटकका कुनै ताजा निसान नभएको जनाइएको छ।

उच्च सतर्कता
उनका छोराले मुर्सीको शवलाई परिवारिक चिहानस्थलमा गाड्न अधिकारीहरूले अनुमति नदिएको बताएका छन् । इजिप्टको आन्तरिक मामिला मन्त्रालयले देशलाई उच्च सुरक्षा सतर्कतामा राखेको छ।  उनको निधन इजिप्टमा अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिता सुरु हुनुभन्दा केही दिन अगाडि भएको छ। मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मुर्सीको निधनबारे निस्पक्ष छानबिनको माग गरेको छ।

हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहारका निम्ति इजिप्ट कुख्यात रहेको उसले बताएको छ। मुस्लिम ब्रदरहुड दलले आफ्नो नेताको निधनलाई हत्याको संज्ञा दिएको छ।

टर्कीका राष्ट्रपति रेजेप ताय्यिम अर्दोआनले इजिप्टका नेता अब्देल फतेह अल सीसीलाई जिम्मेदार ठहर्‍याउँदै मुर्सीलाई मृत्युको मुखमा पुर्‍याउने निरंकुश शासकलाई इतिहासले नबिर्सने चेतावनी दिएका छन्।

कस्तो कारबाही ?

सन् २०१२ मा मोर्सी इजिप्टको पहिलो जननिर्वाचित नेता बनेका थिए। तर एक वर्षपश्चात् उनलाई सेनाले अपदस्थ गरिदियो। अन्य तीन मुद्दाको निर्णयबमोजिम उनलाई ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो। उनीमाथि प्रतिबन्धित समूहको अगुवाइ गरेको तथा सरकार विरोधी प्रदर्शनकारीलाई बन्दी बनाएर यातना दिएको तथा देशका गोप्य सूचना चुहाएको जस्ता आरोप लगाइएका थिए।

तर उनले सधैँ अदालतको वैधानिकतामाथि नै प्रश्न उठाइरहे। उनका समर्थकहरूले ती मुद्दा राजनीतिक पूर्वाग्रह प्रेरित रहेको भन्दै तिनलाई सैनिक कूुलाई वैधानिकता प्रदान गर्ने प्रयत्नको रूपमा व्याख्या गरेका छन्।

अब के हुन्छ ?

यस घटनाले इजिप्ट तथा अन्य देशमा रहेका उनका समर्थकमाझ तनाव चर्किन सक्छ। टर्कीका राष्ट्रपतिले उनलाई सहिद घोषणा गरिसकेका छन्। उनका अन्य समर्थकले पनि त्यसै गर्न सक्छन्। उनका विरुद्ध भइरहेका अदालती कारबाहीप्रति कतिपयले प्रश्न उठाएका थिए।

गत वर्ष एक ब्रिटिस संसदीय समितिले उनलाई दिनको २३ घण्टा एकान्त कारावासमा राखिएको र त्यो यातना भएको जनाएको थियो। यस्तो अवस्था जारी रहे उनको चाँडै ज्यान जान सक्ने उक्त समितिले चेतावनी दिएको थियो।

Loading...