शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो !

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो ।

आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।

आयोगको विज्ञापन अनुसार  प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्त सँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् ।

लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिने छ । दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना नगरिने आयोगले जनाएको छ । प्राविका लागि ५ सय निमाविका लागि ७ सय र माविको उल्लेखित तिनै प्रकारका लागि हजार रुपैंया दरखास्त दस्तुर तोकिएको छ ।

पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो ।

आयोगले २०७३ पछि लिएको शिक्षक लाइसेन्सको परीक्षामा निम्न माध्यमिक तहमा २ लाख ७० हजार ६९ मध्ये ८४ हजार ८८२ अर्थात ३१ दशमलव ४३ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । यस्तै माध्यमिक तहमा ६६ हजार १२ जनाले परीक्षा दिएकामा ३३ हजार ३९६ अर्थात ५० दशमलव ६ प्रतिशतले मात्रै लाइसेन्स लिन सफल भएका थिए ।

२०७४ मा स्नातकोत्तर तह उत्तीर्णहरुका लागि मात्रै गरिएको शिक्षक लाइसेन्स विज्ञापनमा २२ सय परीक्षामा सहभागी भएपनि ९ सय अर्थात ३६ दशमलव ५ प्रतिशत मात्रै उत्तीर्ण भएका आयोगले जनाएको छ ।

आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार आयोगले २०६१ देखि २०६७ सम्मगरी प्राथमिक तहमा १ लाख ९८ हजार ८३०, निम्नमाध्यमिक तहमा २०६१ देखि २०७२ सम्म ३ लाख ३६ हजार २८५, माध्यमिक तहमा २०६१ देखि २०७२ सम्म १ लाख ३५ हजार ९६० गरी कुल ७ लाख ६५ जनालाई शिक्षक लाइसेन्स वितरण गरेको छ ।

यसैगरी साविक उच्च माध्यमिक तह९११र १२ कक्षा०का लागि २२ हजार ९८६ जनालाई लाइसेन्स वितरण  गरिएको छ ।

विज्ञापनगत आवश्यक न्युनतम शैक्षिक योग्यता

प्राथमिक तहको वि.नं. ३२/०७६ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४०० पूर्णांकको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको,

निम्न माध्यमिक तहको वि.नं. ३३/०७६ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २०० पूर्णांक सहित परीक्षा दिन चाहेको कुनै एक विषय नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको,

माध्यमिक तहको वि.नं. ३४/०७५ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णांक सहित परीक्षा दिन चाहेको कुनै एक विषय नेपाली, सामाजिक विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा कम्तीमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको,

माध्यमिक तहको वि.नं. ३५/०७६ को लागिः
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णांक सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरुमध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र,

माध्यमिक तहको वि.नं. ३६/०७५ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, कृषि (बाली विज्ञान र पशु विज्ञानमध्ये कुनै एक विषयमा कम्तीमा ३०० पूर्णांकसहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको,

 

 

Loading...