भारतको अपराजित यात्रा कायमै, पाकिस्तान ८९ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तान बिरुद्धको अपराजित यात्रा कायमै राखेकोछ। सन् १९९२ देखि विश्वकपमा भारतले पाकिस्तानलाई सातौँ पटक पराजित गरेपछि पाकिस्तानको भारतबिरुद्ध विश्वकप जित निकाल्ने प्रतीक्षा पुनः लम्बिएको हो।

भारतले १९९२, १९९६, १९९९, २००३, २०११ र २०१५ मा पाकिस्तानलाई पराजित गरेको थियो।

भारतले दिएको ३३७ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिंग गरेको पाकिस्तान ३५ ओभरमा १६६/६ को स्थितिमा रहंदा वर्षाले खेल रोकिन पुगेको थियो। पुनः खेल सुचारु हुँदा दोश्रो इनिंग ४० ओभरमा छोट्याइएको थियो। बाँकी ५ ओभरमा पाकिस्तानलाई जित्न १३६ रन आवस्यक रहेको थियो। असम्भव लक्ष्य पाकिस्तानले पछ्याउन सकेन र खेल डीएल मेथडमा भारत ८९ रनले विजयी भयो।

 

जितसंगै ४ खेलमा ३ जित र १ नतिजाविहिन खेल रहंदा भारत अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। न्युजिल्याण्डसंग समान नतिजा सहित ७ अंक रहेपनि भारत नेटरन रेटमा पछि रहँदै तेश्रो स्थानमा रहेको छ। अस्ट्रेलिया ५ खेलमा ४ जित सहित पहिलो तथा इंग्ल्याण्ड ६ अंक सहित चौथो स्थानमा रहेको छ।

पाकिस्तानको ब्याटिंग

लक्ष्य पछ्याउने क्रममा पाकिस्तान एक समय ११७/२ ( २३.६ ) को राम्रो अवस्थामा रहेको थियो। तर त्यसपछि पाकिस्तानले लगातार विकेट गुमाउन पुग्यो।

ओपनर फखर जमानले सर्वाधिक ६२ , बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए। पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाउन सक्यो। भारतको लागि बलिंगमा भिजे शंकर, हार्दिक पान्ड्या र कुलदिप यादबले २/२ विकेट लिए।

रोहितको विशाल इनिंग

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको थियो।

भारतको लागि रोहित शर्माले सर्वाधिक १४० रन बनाएका थिए। उनले ११३ बलमा १४ चौका र ३ छक्का प्रहार गरे। कप्तान बिराट कोहलीले ७७ ( ६५ बलमा ७ चौका ) , लोकेश राहुलले ५७ ( ७८ बलमा ३ चौका र २ छक्का ) , हार्दिक पान्ड्याले २६ ( १९ बलमा २ चौका र १ छक्का ) बनाए।

रोहित र राहुलले पहिलो विकेटको लागि १३६ रन तथा रोहित र कोहलीले दोश्रो विकेटको लागि ९८ रनको साझेदारी गरेका थिए।

पाकिस्तानको लागि बलिंगमा मोहम्मद आमिरले ३ विकेट ( १०-१-४७-३ ) तथा हसन अलि ( ९-०-८४-१ ) र वहाव रीयाज ( १०-०-७१-१ ) १/१ विकेट लिएका छन्। इमाद वासिम, शदाब खान, शोयब मलिक र मोहम्मद हफिज विकेटविहिन रहे।

प्रतियोगितामा भारतले पहिलो खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले तथा दोश्रो खेलमा अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो। न्युजिल्याण्डसंगको तेश्रो खेल वर्षाले नतिजाविहिन रहेको थियो। पाकिस्तानले भने पहिलो खेलमा वेस्ट इन्डिजसंग ७ विकेटको हार बेहोरेको थियो। यस्तै दोश्रो खेलमा इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको थियो भने तेश्रो खेल नतिजाविहिन रहंदा चौथो खेलमा अस्ट्रेलियासंग ४१ रनले पराजित भएको थियो।

Loading...