वडाध्यक्ष नै बेहोस भएपछि हरिवनका सबै विद्यालयमा बिदा, लालबन्दी र बागमतीमा पनि बिदा

सर्लाही, १ असार । केहिदिन यता देशभर नै तापक्रम बढ्दा जनजीवन प्रभावित बनेको छ । अत्याधिक चर्को घाम र तातो हावाको कारण सर्लाही सहित तराईको जन जीवन अझ कष्टकर बनेको छ ।

यसैबिच अत्याधिक गर्मीका कारण हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेखमेहबुब रेजा बेहोस भएपछि उपचारको लागि विरगंज पुर्याइएको छ ।

वडाको बिकाश निर्माणको अवलोकनमा निस्केका अध्यक्ष रेजा एक्कासी गर्मीका कारण लु लागेर बेहोस भै लडेपछि हरिवनस्थित स्वाभिमान अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्थामा सुधार नभएपछि थप उपचारको लागि विरगंज पुर्याइएको उनका सहयोगी आरिफ हुसेनले बताए ।

यसै बिच हरिवन नगरपालिकाले आजै एक निर्णय गर्दै सोमबारबाट विद्यालयमा बिदा दिने निर्णय गरेको छ । आईतबार नगरपालिकामा नगर शिक्षा अधिकृत नवराज निरौलाको अध्यक्षतामा बसेको शिक्षा समितिको निर्णय अनुसार सोमबारबाट बिदा दिने निर्णय गरिएको शिक्षक संगठनका नगर अध्यक्ष राजन खडकाले जानकारी गराए ।

सोमबारबाट एक हप्ताको लागि अर्थात ६ गते सम्म सामुदायिक तथा निजी बिद्यालयलाई बिदा दिन र उक्त बिदा वर्षे बिदाबाट मिलान गर्ने बताइएको छ ।

त्यस्तै बागमती नगरपालिकाले पनि भोलि सोमवारबाट एक हप्ताको लागि बिद्यालयमा बिदा दिएको जनाएको छ ।

यता लालबन्दी नगरपालिकाका सम्पुर्ण विद्यालयको पठन पाठन आइतवार बाटै बन्द गरिएको छ । लालबन्दी नगरपालिकाले सुचना नै निकालेर अर्को सुचना नआउन्जेल विद्यालय बन्द गर्न पत्रचार गरेको हो । पत्रमा भनिएको छ ”तराईमा लामो समय देखि पानी नपर्नुको साथै अत्याधिक गर्मी बढेर जनजीवन समेत प्रभावित भएकोले अर्को सुचना जारी नभए सम्म नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्न र अहिले दिएको बिदा लाई वर्षे बिदामा मिलान गर्न सूचित गरिन्छ ।”

Loading...