जब दलित भन्दै टाउकोमा बञ्चरो, चक्कु, गोली प्रहार गरी हत्या गरियो

भारतको गुजरात राज्यको  सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ। प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए। आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्य दुईजना गम्भीर घाइते छन्।

थानगढ प्रहरी चौकीमा एससी एसटी ऐन अनुसार उजुरी दर्ता गरिएको छ। प्रहरीले दुई जनालाई हिरासतमा लिएको छ। प्रकाश थानगढस्थित सेरामिक कारखानामा कार्यरत मजदुर थिए। उनको परिवारमा पत्नी र दुई छोराछोरी छन्। प्रकाशको हत्यापश्चात् दलित समुदायले प्रहरी चौकी अगाडि धर्ना प्रदर्शन गरेर र शव लिन अस्वीकार गरेका थिए।

‘घरैमा आएर मेरो भतिजालाई मारे’

बुधवार अबेर राती थानगढको मफतियापरा क्षेत्रमा यो घटना भएको हो। त्यसमा प्रकाश गम्भीर घाइते भए र उनलाई उपचारका लागि राजकोट लगिएको थियो। त्यहाँ उपचारका क्रममा उनको मृत्यु भयो।

प्रकाशका काका बाबुभाई परमारले बीबीसी गुजरातीसँग कुराकानी गर्दै भने, “प्रकाश र उनको परिवार आफ्नै घरमा बसिरहेका थिए। त्यसै बेला ती मानिसहरू घर बाहिर आए र अपशब्द बोल्न शुरू गरे।”

उनले ती मानिसहरू आफूलाई पिट्न आएको बताउँदै भने, “उनीहरूले हाम्रो जातिलाई जोडेर नराम्रो कुराहरू भने। त्यसपछि उनीहरूले मेरो भतिजाको बारेमा सोध्न थाले। त्यसैले गर्दा केटाहरू डराएर र घर भित्र गए।”

उनका अनुसार आक्रमण गर्न तीनजना मानिस आएका थिए। परमारले भने, “उनीहरूले हामीलाई घरबाट तानेर बाहिर निकाले र चिच्याएर ‘बाबु परमारको घर कुन हो?’ भनेर सोधे। उनीहरूको हातमा हतियार थियो, त्यो देखेर मानिसहरू डराए र आफूहरूलाई केही पनि थाहा नभएको बताए। त्यसपश्चात् उनीहरूले प्रकाशलाई आक्रमण गरे।”

बाबुभाईका अनुसार उनी सामान्यतया: प्रकाशकै घरमा गएर बस्ने गर्छन्। त्यस दिन भने उनी बाहिरबाट आएको र थाकेकाले प्रकाशको घर गएका थिएनन्।

हत्याको कारण

बाबुभाईका अनुसार मृतक प्रकाशको कान्छो भाईको आरोपीहरूसँग एक वर्ष अघि झगडा भएको थियो।

त्यसबेला पनि आरोपीहरूले जातिका आधारमा अपमान गरेका थिए र त्यसपछि हात हालाहाल भएको थियो। त्यसबेला उनीहरू विरूद्ध एससीएसटी ऐन अनुसार उजुरी दर्ता गरिएको थियो। उक्त घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी डीवी बासियाले  बताए अनुसार बुधवार रातको करिब ९-१० बजे बीच यो घटना भएको हो।

यो घटनामा काठी दरबार जातिका तीन जना विरूद्ध दलित उत्पीडन र हत्याको मुद्दा दर्ता गरिएको छ।

उक्त आक्रमणमा प्रकाशको मृत्यु भयो भने सुरेश देवजीभाई घाइते भए। आरोपीहरू नरेश दीनुभाई र देवराज दीलुभाई विरूद्ध दलित उत्पीडन मुद्दा दर्ता भएको हो। बासियले भने, “हामीले उक्त घटनामा दुई जनालाई हिरासतमा लिएका छौँ। त्यस क्षेत्रमा प्रहरी बल तैनाथ छ र पीडित परिवारलाई सुरक्षा दिइएको छ।”

खबरहरूका अनुसार आरोपी बाइकमा रिवल्भर, बञ्चरो, लौरो जस्ता हतियार लिएर प्रकाशका घरमा प्रवेश गरेका थिए।

उनीहरूले जातिमा आधारित अपमानजनक शब्दहरू बोलेका थिए। दलितहरूले त्यसको विरोध गरेपछि नरेशले प्रकाशको हत्या गरिदिए। त्यसपछि बन्दुकबाट गोली पनि चलाए। उनले प्रकाशको टाउकामा बञ्चरोले हानेका थिए।

‘राज्य सरकारले हाम्रो सुरक्षा गरोस्’

थानगढमा यस अघि पनि कथित प्रहरी फायरिङका क्रममा सन् २०१२ मा तीनजना दलित युवकले ज्यान गुमाएका थिए।

अहिलेको घटना पछि दलित समाजले प्रकाशको शव लिन अस्वीकार गरेका थिए। त्यसले गर्दा त्यस क्षेत्रमा तनाव थप बढेको छ। उनीहरूले धर्ना दिएर आरोपीलाई पक्राउ गर्न माग गरेका छन्। करिब ५-६ घण्टासम्म प्रहरीसँग भएको छलफलपश्चात् पीडित परिवारले प्रकाशको शव बुझ्न तयार भएका थिए।

बाबुभाई भन्छन्, “ती मानिसहरू हामीलाई बारम्बार प्रताडित गर्छन्। हामीलाई यो क्षेत्रमा बस्नु नै छैन। हामी सरकारसँग हामीलाई कुनै सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन माग गर्छौँ।”

विविसि नेपालीबाट

Loading...