विषालु च्याउ खाँदा पाल्पामा ६ जनाको मृत्यु

पाल्पा । विषालु च्याउ खाँदा पाल्पामा पाँच बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । पूर्वी पाल्पास्थित निश्दीका गाउँलेहरूले गत हप्ता नजिकै रहेको जङ्गलबाट च्याउ ल्याएर खाएका थिए ।

जङ्गली च्याउ खाएर अशक्त भएका छ जनाको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

गत शुक्रबार च्याउ खाएर गम्भीर बिरामी परेका पाल्पाका ११ जनामध्ये तीनजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।

मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्णसिंह खाम्चा मगर, १२ वर्षीया निशा सिंह ठकुरी र ६ वर्षीय सुमन सिंह ठकुरी छन् ।

निशा र सुमन कान्छा बुबा र ठूलाबुबाका छोराछोरी हुन् । दुई दिनअघि १४ वर्षीया निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

मृतक ६ जनामध्ये निशा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् । विषालु च्याउ खाएर ११ जना बिरामी परेका थिए । बिरामी गरेका नौ जनाको कावासोतीस्थित मध्यविन्दु अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । बिरामीहरुमध्ये एकजना निको भएर घर फर्किएका छन् भने बाँकी चार जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

नेपालमा विषालु च्याउ खाएर प्रत्येक वर्ष मानिसहरूको ज्यान जाने गरेको छ । जङ्गली च्याउ खाद्य वा अखाद्य भएको छुट्याउन नसक्दा दुर्घटना हुने गरेको बताइन्छ।

केही जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर र्पुयाउने विज्ञहरू बताउँछन् ।

सबै जङ्गली च्याउ विषालु नहुने र चिन्न सके केही खान पनि मिल्ने विज्ञहरु बताउँछन् । तर अखाद्य च्याउले पेट बिगारिदिन सक्छ। त्यतिमात्रै होइन च्याउखाएपछि वाकवाक लाग्ने, बान्ता हुने, पेट काट्ने र पखाला लाग्ने हुन सक्ने विज्ञहरुको भनाइ रहेको छ ।

Loading...