डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाद्वारा पाकिस्तान ४१ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत १७ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्रै बनाउन सक्यो।

प्रतियोगितामा यो अस्ट्रेलियाको तेश्रो जित हो। यस अघि उसले अफगानिस्तानलाई ७ विकेटले, श्रीलंकालाई ३४ रनले पराजित गर्दा भारतसंग ३६ रनले पराजित हुन पुगेको थियो। पाकिस्तानको भने ४ खेलमा यो दोश्रो हार हो। पहिलो खेलमा वेस्ट इन्डिजसंग ७ विकेटले पराजित भएको उसले, दोश्रो खेलमा इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको थियो भने तेश्रो खेल नतिजा भने टुंगिएको थियो।

लक्ष्य पछ्याउने क्रममा ओपनर फखार जमान खाता नखोली प्याट कमिन्सको बलमा क्याच आउट हुँदा अर्का ओपनर इमाम उल हकले अर्धशतक बनाउदै इनिंग अघि बढाए।

इमामले दोश्रो विकेटको लागि बाबर आजमसंग ५४ रनको साझेदारी गरे। आजम ३० रन बनाएर आउट हुँदा इमामले मोहम्मद हफिजसंग तेश्रो विकेटको लागि ८० रन जोडे।

५३ रन बनाएर इमान २६ औं ओभरमा तथा २८ औं ओभरमा हफिज अर्धशतक बनाउन चुक्दै ४६ रन बनाएर आउट भए। इमानलाई कमिन्सले तथा हफिजलाई फिन्चले आउट गरे। लगत्तै आसिफ अलि पनि ५ रन बनाएर आउट भए। आक्रामक इनिंग खेलेका हसन अलि १५ बलमा ३ छक्का र ३ चौका मदतले ३२ रन बनाएर पेभेलियन फर्किंए।

१३६/३ बाट पाकिस्तान २००/७ को अवस्थामा पुग्यो। अस्ट्रेलिया जिततर्फ अघि बढ्दै जाँदा कप्तान सरफराज एहमदले एक किनार सम्हाल्दै पाकिस्तानको सम्भावना बनाइ राखे। सरफराजले नवौं नम्बरमा आएका वाहब रियाजसंग आठौँ विकेटको लागि ६४ रनको साझेदारी गरे।

खेलले रोमान्चक मोड लिने अवस्था थियो जुन बेला ४५ रन बनाएका रियाजलाइ मिचेल स्टार्कले क्याच आउट गराउदै खेलमा फर्काए। रियाजले ३९ बलमा ३ छक्का र २ चौका प्रहार गरे। सोहि ओभरमा मोहम्मद आमिर पनि खाता नखोली बोल्ड हुन पुगे।

पाकिस्तानको अन्तिम आशा बनेका कप्तान सरफराज ४६ औं ओभरमा रन आउट हुन पुग्दा पाकिस्तान २६६ रनमा अलआउट हुन पुग्यो। सरफराजले ४६ रन बनाए पनि जितसम्म पुर्याउन सकेनन्। अस्ट्रेलियाको लागि प्याट कमिन्सले सर्वाधिक ३ विकेट ( १०-०-३३-३ ) तथा मिचेल स्टार्क ( ९-१-४३-२ ) र केन रिचर्डसन ( ८.४-०-६२-२ ) ले २/२ विकेट लिए।

वार्नरको शतक र आमिरको ५ विकेट

यस अघि पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रनको योगफल तयार गरेको थियो। डेभिड वार्नरले १५ औं शतक बनाउने क्रममा १०७ रन तथा कप्तान आरोन फिन्चले ८२ रन बनाएका थिए। वार्नर र फिन्चले १४६ रनको ओपनिंग साझेदारी गरेका थिए।

राम्रो सुरुवात गरे पनि मोहम्मद आमिरले एकदिवसीय करियरमा पहिलो पटक ५ विकेट लिंदै अस्ट्रेलियालाई विशाल योगफल बनाउन रोकेका थिए। आमिरले १० ओभरमा २ मेडन ओभर सहित ३० रन मात्र खर्चिए।

Loading...