ऐतिहासिक पर्यटकीय स्थल जोडने पदमार्गको निर्माण

लमजुङ, २९ जेठ । यहाँका एक पर्यटकीय पदमार्गको निर्माणकार्य शुरु भएको छ । बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको छ ।

उक्त गाउँबाट मन्दिरसम्म पुग्न ५०० मिटर लामो सिँढी निर्माण भइरहेको वडासदस्य वीरेन्द्र गुरुङले बताए । उनका अनुसार जेठ १२ गतेबाट शुरु भएको उक्त कार्यको करीब १०० मिटर लामो सिँढी र रेलिङको निर्माण भइसकेको छ । एक मिटर ६० सेन्टिमिटर चौडाइ रहने सिँढी बालुवा र सिमेन्टले निर्माण गरिरहेको निर्माण समितिका अध्यक्ष तथा पुमागाउँ घरबास व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताए ।

निर्माणाधीन सिँढी गण्डकी प्रदेश सरकारको रु १० लाख अनुदान, बेँसीशहर नगरपालिकाको रु साढे एक लाख र स्थानीयवासीको करीब रु तीन लाख बराबरको श्रमदान हुने गरी निर्माण भइरहेको स्थानीयवासी तथा वडासदस्य गुरुङले भने ।

उक्त निर्माण कार्य सम्पन्न गर्नका लागि सो बजेटले आधा मात्रै काम हुने र बाँकी अपुग रकम प्रदेश सरकार, नगरपालिकालगायतसँग माग गरी निर्माण पूरा गरिने समितिले जनाएको छ । समितिका अनुसार निर्माणकार्य सम्पन्न गर्नका लागि कम्तीमा पनि रु ५० लाख आवश्यक पर्ने भएको छ । अहिले सहयोग आएको बजेटको काम आगामी असारभित्र सम्पन्न गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको छ ।

घरबासमा आउने पर्यटक उक्त मन्दिरसम्म जानका लागि सहज होस् र मन्दिरको समेत प्रचारप्रसार पुग्ने उद्देश्यले सिँढी निर्माणकार्य भइरहेको छ । पर्यटकीय एवं धार्मिकस्थल भएर पनि प्रचारप्रसार हुननसकेको स्थानीयवासीले बताएका छन् । उक्त मन्दिरमा महीनाको शुक्रबार र बुधबार दुई दिन मात्रै पूजाआजा हुने गरेको छ । यहाँ विभिन्न मनोकामना पूरा हुने जनविश्वाससमेत रहिआएको छ ।

Loading...