खेल्दै गरेकी पुष्पालाई चितुवाले खायो, ६/६ महिनामा मान्छे खाने अचम्मको ठाउँ

तनहुँ । तनहुँमा खेल्दै गरेकी एक बालिकालाई चितुवाले एकाएक गायव पारेको छ । चितुवाले बच्चालाई गायव पारेपछि त्यसक्षेत्रका स्थानीयमा ठूलो त्रास फैलिएको छ ।

शुक्रबार साँझ करिब ७ बजे तनुहँ जिल्ला भानु नगरपालिका वडा नंं २ की ८ बर्षिया पुष्पा अधिकारी साथीहरुसँग आगनमा खेलिरहेकी थिईन् । उनकी आमा मेलामा गएकी थिईन । घरमा हजुरबुबा र हजुर आमा मात्र थिए । पुष्पाका साथीहरुले हजुरबाबालाई गएर पुष्पा लडेको बताए ।

पुष्पाका हजुरबा गएर हेर्दा पुष्पा भेटिइनन् । उनी खेलिरहेको ठाउँमा उनको एउटा चप्पल मात्र भेटियो । तर, हजुरबाले नातीनी अर्को घरतिर खेल्न गएको ठाने । उनले थप खोजि गरेनन् । केही समयपछि पुष्पाका आमा आईन । उनले छोरी खोजिन । छोरी खोज्दै गाउँमा सबैतिर गइन । तर, कहि कतै पनि छोरी भेटिनन् ।

त्यसपछि एकाएक गाउँ भरी हल्ला भयो पुष्पा हराएको । केहीबेरमा गाउँलेहरु जम्मा भए । गाउँलेहरुले हेर्दा त्यहाँ चितुवाको खुट्टाको डाम फेला पारे । त्यतिबेलासम्म रात परिसकेको थियो । सबै मिलेर रातको समयमा उक्त चितुवाको खुट्टाको डाम हेर्दै गएपछि करिब पाँच सय मिटर माथि पुष्पाको शव फेला पर्यो ।

गाउँलेले पुष्पालाई चितुवाले नै आक्रमण गरेको ठहर गरे । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थल पुग्यो । प्रहरी घटनास्थलमा पुगे पनि गर्न सक्ने केही थिएन । मुचुल्का उठाएर फर्के ।

यस गाउँमा चितुवाले धेरैको ज्यान लिइसकेको छ । प्राय प्रत्येक ६÷६ महिनामा यहाँ चितुवाले मान्छेको ज्यान लिने गरेको गाउँलेहरु बताउँछन् ।

करिब ६ महिना अगाडि पनि सोही ठाउँकै १० बर्षिय बालकलाई चितुवाले खाएको थियो । भानु नगरपालिकामा मात्रै अहिलेसम्म ४ जनालाई नरभक्षी चितुवाले खाइसकेको छ । चितुवाले मानिसको ज्यान लिन थालेपछि वन कार्यालय, नगरपालिका र सम्बन्धित निकायले सिसी क्यामरा तथा ट्रयाप थापेका थिए । तर ट्रयाप थाप्दा पनि चितुवा नियन्त्रणमा आउन सकेको छैन ।

सीसी क्यामेरा राखेपछि मान्छे खाने चितुवा भने सिसी क्यामरामा देखिएको छ । तर पनि त्यसलाई नियन्त्रण गर्न प्राबिधिक टोलीले सकेको छैन । डिभिजन कार्यालय तनहुँका सहायक वन अधिकृत बिजयचन्द्र देबकोटा स्थानीयले सीसी क्यामेरामा चितुवा देखेको बताउँछन् । त्यस क्षेत्रमा एउटा चितुवा मरेको फेला परेको थियो । त्यसले गाउँलेहरु खुसी भए पनि अहिले पुष्पाको ज्यान लिएपछि उनीहरु त्रसित बनेका छन् ।

Loading...