गुडिरहेको गाडी नै उडाउने गरी चल्यो हावाहुरी, २ को मृत्यु १०० बढी घाइते

धनगढी, २३ जेठ । सुदूरपश्चिमकाे कैलाली र कञ्चनपुरमा अाएकाे भयानक हावाहुरीले ठूलो जनधनको क्षति भएकोे छ । अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ भने ठूलाे संख्यामा मानिसहरु घाइते भएका छन् । अहिलेसम्म १ सयभन्दा बढी घाइते भएकाे प्रहरीले जनाएकाे छ । 

एकाएक चलेकाे हावाहुरीले  केही सवारी साधन समेत उडाएको छ । हावाहुरीले टिनका छाना उडाएकाे छ । त्यसैगरी १०० भन्दा बढी विद्युतका पाेल ढलेका छन् । हावाहुरीले कैलालीकाे धनगढीसँगै जोडिएको डोकेबजारमा ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीप उडाएको छ । हुरीले गाडी उडाएपछि उक्त जीपका चालक र सहचालक दुबैजना घाइते भएका छन् । प्रहरीले दुबैजनालाइ उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको र उनीहरुकाे उपचार भइरहेकाे बताइएकाे छ ।

त्यसैगरी कञ्चनपुरमा पनि ठूलाे संख्यामा मानिसहरु घाइते भएका छन । घाइतेहरुलाइ महाकाली अञ्चल अस्पतालमा पुर्याइएकाे छ । हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ भने पक्की घरको जीना (छतमा जाने बाटो)को जस्ताहरु समेत उडाएको छ ।

स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दावी छ ।

कैलाली र कञ्चनपुरमा दर्जनौं विद्युतका पोलहरु ढलाएकाले विद्युत् आपुर्ती बन्द भएको छ । त्यसैगरी नेपाल टेलिकमका पोलहरुमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ । कैलाली प्रहरीेले मानिसहरु रुख ढलेर च्यापिएको खबर आए पनि त्यहाँ जाने सडकमा दर्जनौं रुखहरु ढलेकाले जान नसकेको जनाएको छ ।

Loading...