चरीमाथि गोली हान्ने र हात काटिदिने गुण्डा नाइके राधे पक्राउ

धादिङ, २३ जेठ । चर्चित गुण्डा नाइके राधे भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको मलेखुबाट राधेलाई प्रहरीले हतियारसहित पक्राउ गरेको दावी गरेको छ ।

प्रहरीको खोजी सूचीमा रहेका राधे नेपाली कांग्रेसको युवा संगठन तरुण दलको जिल्ला तहको नेता पनि रहेको बुझिएको छ । बुधवार साँझ धादिङको गजुरी गाउँपालिका वार्ड नं. २ मलेखुमा राधेले हतियार देखाएर स्थानीयलाई धम्क्याउँदै गरेको खबर प्रहरीकहाँ आएपछि गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

राधेले मलेखुबाट धादिङकै ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएका थिए । सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले सुरुमै आक्रमण गरेको बताइन्छ । राधेले गरेको आक्रमणबाट प्रहरीको गाडीमा क्षति समेत पुगेको बताइएको छ ।

धादिङ जिल्लाका विभिन्न ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतमा सम्लग्न भएर उनले ठूलो कमिसन असुल गर्ने गरेका थिए । उनले धक्याएर ठेक्कापट्टा र बालुवाखानीबाट पैसा असुल्ने गरेपछि जिल्लामा व्यवसायीहरु त्रसित थिए । उनी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत भएकोले व्यवसायीहरु झनै डराउने गरेका थिए ।

राधेले दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा अर्का गुण्डा नाइके दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । त्यसअघि तिनै राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा दिनेश अधिकारी चरीलाई गोली समेत हानेका थिए । त्यसपछि राधे एकाएक चर्चामा आएका थिए । दिनेश अधिकारी चरी भने २०७१ साउन २१ गते काठमाडौंको भीमढुंगामा ‘प्रहरी इन्काउन्टर’मा मारिएका थिए ।

चरी समूहका आयुप तामाङको हात काटेको केसमा पक्राउ परेका राधे राजनीतिक दबाब बढाएर छुटेका थिए । तर, प्रहरीले भने उनलाई मोस्ट वान्टेडकै सूचीमा राखेर खोजी गरिरहेको थियो ।

Loading...