पहिरोले गाउँपालिका कार्यालयसँगै तीन घर र एक महिलालाई पुर्यो

रोल्पा, १९ जेठ । रोल्पाको एक गाउँपालिकाको कार्यालय पहिरोले पुरिनुका साथै एक जनाको ज्यान गएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण रोल्पाको लुग्री गाउँपालिकाको कार्यालय पहिरोले पुरिएको हो । पहिरोले तीन वटा घरमा क्षति पु¥याउनुका साथै २ वटा मोटरसाइकल पनि पुरेको छ ।

केहीदिन यता दिनमा केही घन्टा ठूलो पानी गरेको छ । भारी वर्षाले अन्य थुप्रै ठाउँमा पनि क्षति पु¥याएको छ । शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण लुग्री गाउँपालिका कार्यालय भवन रहेकै ठाउँभन्दा ठिक माथिबाट आएको पहिरोले क्षति पु¥याएको हो । पहिरो आएको दिन भएकोले बन्द रहेको गाउँपालिकाको कार्यालय भवनमा कोही नभए पनि सोही भवन नजिकै रहेको अर्को घरकी गौमाला माझीको पहिरोले पुरेर ज्यान लिएको छ ।

पहिरो आउँदा गौमाला माझी घर बाहिर कुलेसो काटिरहेकी थिइन । अन्दाजी ४८ वर्षीया माझीको डोजर लगाएर निकाल्ने बताइएको छ । ४ः३० बजे पुरिएकी महिला ठूलो पहिरोमा पुरिएकाले निकाल्न समय लाग्ने उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले जानकारी दिए।

उनका परिवार भने सकुशल छन्। माझीसँगै उनको घरसमेत पहिरोमा पुरिएको छ । पहिरोले स्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पु¥याएको छ भने दुई निजी मोटरसाइकलसमेत पुरिएको छ।

गाउँपालिकाको भुइतलाको दुइवटै सटर पूर्णरूपमा पुरिएको छ । सरकारी नम्बरप्लेटको मोटरसाइकललाई पहिरोले क्षति पु¥याएको छ । अन्य क्षतिको विवरण भने आउन बाँकी नै छ।

अझै पनि पानी पर्न सक्ने सम्भावना भएकाले पहिरोले थप क्षति पु¥याउन सक्ने भएकाले सजग हुन पहिरो नजिकका स्थानीयवासीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ।

Loading...