७ कक्षा पढिरहेको छोरोलाई अचानक अनौठो रोग लागेपछि सबै गुमाएकी मन्जुको सहयोगका लागि अपील

काठमाडौं । अनौठो रोगबाट पीडित छोराको उपचारका लागि भन्दै एक आमाले आर्थिक सहयोगका लागि अपिल गरेकी छन् । कालिकोटको रास्कोट नगरपालिका वडा नं.८ निवासी मन्जु धमलाले अनौठो रोगबाट पीडित छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग आग्रह गरेको हुन ।

आर्थिक अवस्था कमजोर भएका कारण १२ वर्षिया छोरा विवेक धमलाको मन्जुले उपचार गर्न सकेकी छैनन । उपचारका लागि आर्थिक सहयोग माग्नुको कुनै विकल्प नदेखिएपछि उनी यसरी सबैसँग अपील गरिरहेकी छन् ।

मन्जुका छोरा बिबेक सुर्खेतको एगरब्रिज बोर्डिडमा कक्षा ७ मा अध्ययन गरिरहेका थिए । तर, २ महिना अगाडिदेखि उनलाई अचानक अनौठो रोग लागेको छ । छोरा विवेकलाई विगत २ महिनादेखि दिनमा ५÷७ पटक रगत बान्ता हुने गरेको छ । जसका कारण उनीहरु अहिले निकै आत्तिएका छन् । मन्जुले सुरुसुरुमा छोरा विवेकलाई सुर्खेत, काठमाडौं सबैतिर आफ्नो प्रयासमा उपचार गराइन । तर, उनको रोग कतै पनि निको हुन सकेको छैन ।

मन्जुले ननस्टपखबरसँग आँखाबाट आसुँ झार्दै भनिन्— सुरुमा सुर्खेतकै देउती अस्पतालमा देखायौँ । त्यहाँ केही भएन । देउती अस्पतालले काठमाडौँ रिफर गर्यो । काठमाडौँमा कान्तिबाल अस्पताल, नर्भिक, ग्रान्डी लगायतका थुप्रै अस्पतालमा देखाउँदा पनि रोगको पहिचान हुन सकेन । चिकित्सकहरुले कतै मृगौलामा समस्या त कतै मुटुमा, आन्द्रामा समस्या भएको भन्दै भारतमा उपचारको लागि सल्लाह दिने गरेका छन् । यसले आफुलाई थप दुविधा उत्पन्न भएको मन्जु बताउँछिन् । रोगको पहिचान गर्न सबै हेर्नुपर्ने भएकोले ठूलो धनराशी खर्च हुनसक्ने चिकित्सकले जानकारी गराएका छन् ।

छोरा विवेकलाई सुरुमा कुनै पनि समस्या थिएन । एकाएक २ महिना अघि मात्र दिनमा ५÷७ पटक रगत बान्ता हुन थालेको हो । रोगको पहिचानै नभई आफूसँग भएको सबै पैसा सकिएकोले थप उपचारका लागि आर्थिक संकट आइलागेको मन्जुको भनाइ छ ।

मन्जु कुनै समय देशको परिवर्तनका लागि भन्दै माओवादी जनयुद्धमा लागेकी थिएन । उनी जनयुद्धकी घाइते पनि हुन् । उनका शरिरमा अहिले पनि गोलीका छर्रा छन् । जनयुद्धमा लागेका धेरै नेताहरु अहिले सरकारमा छन् । तर, कसैले पनि उनलाई सहयोग गरेका छैनन । उनी भन्छिन, “पहिले देश परिवर्तनको लागि भनेर ज्यानको पर्वाह नगरी जनयुद्धमा लागियो । घाइते भइयो । अहिले हामीलाई युद्धमा लगाउने नेताहरु सिंहदरबारमा छन् । नेताहरु सबैलाई भेट्दा पनि कसैले सहयोगको लागि पहल गरेका छैनन् ।”

मन्जुले ननस्टपखबरसँग भावुक हुँदै भनिन, “मैले छोराको मृ्त्यु कुरेर बस्नुपर्ने अवस्था आएको छ । मेरो शरीरमा अझै गोलीका छर्रा छन् । मलाई त राज्यले नहेरे पनि मेरो सन्तानको जीवनरक्षाको माग गर्दा कसैले सुनेनन् । गरीब र असहायका लागि त कोही पनि नहुने रहेछन् ।”

उनी सरकार भनेको त केवल पहुँचमा हुनेहरुको मात्र हुने रहेछ भन्ने यतिबेला थाहा पाएको बताउँछिन । विवेक धमला अहिले नर्भिक हस्पिटलमा उपचारमा छन् । उनले छोरालाई बचाइदिन आग्रह गर्दै देश र विदेशमा रहेका सबै मनकारी नेपालीहरुसमक्ष अपील गरेकी छन् ।

Loading...