राजधानीका २ ठाउँका विष्फोटमा परी ३ को मृत्यु, ७ घाइते, विप्लवको पर्चा भेटिएको प्रहरी दावी

काठमाडौं, १२ जेठ । राजधानीको सुकेधारा र अनामनगर र घट्टेकुलोमा विष्फोट भएको छ । विष्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

काठमाडौँको सुकेधारामा भएको विस्फोटमा परेर २ जनाको मृत्यु भएको छ भने अनामनगरमा एक जनाको मृत्यु भएको छ । विष्फोटमा परी मृत्यु हुनेमा काभ्रे घर भइ कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भइ सुरेन्द्र महर्जनको मृत्यु भएको हो । घटनामा परी ६ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको जानकारी दिए । बुढानिलकण्ठ नगरपालिका ४ मा रहेको एक घरमा विस्फोट भएको बताइएको छ । घटनामा परी घाइते भएका ५ जनाको ओम अस्पतालमा पु¥याइएको छ । अर्का एक जना घाइतेलाई टिचिङ अस्पतालमा लगिएको थियो । टिचिङ अस्पतालमा पनि उपचार हुन नसकेपछि उनलाई ट्रमा सेन्टर रिफर गरिएको बताइएको छ । घाइते मध्ये अन्य एक जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

त्यसैगरी अनामनगरमा पनि विस्फोट भएको छ । प्रहरीले अनामनगर विष्फोटमा परेर १ जनाको मृत्यु भएको जनाएको छ । साथै सो विष्फोटमा १ जना घाइते भएको बुझिएको छ । अनामनगरमा भएको विष्फोटमा घाइते भएका एक जनालाई विर अस्पताल पुर्याइएको छ ।

प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले घटनास्थललाई घेरा हालेर अनुसन्धान गरिरहेको छ । सुकेधाराको ढलाने पुल नजिकै शैलुनमा भएको विष्फोटमा परी गम्भीर घाइते भएकालाई उपचारमा लैजाँदै गर्दा बाटोमा निधन भएको बताइएको छ ।

घटनास्थलमा ठूलो संख्यामा नेपाली सेना, सशस्त्र, सिआइबी र प्रहरीको टोली परिचालन गरिएको छ । घटनास्थलमा सर्वसाधारण र सञ्चारकर्मीलाई समेत जान रोकिएको छ ।

प्रहरीले घटनास्थलमा जेठ १३ गतेको बन्द सफल पारौ भन्ने लेखिएको पर्चा भेटिएको जनाएको छ । जसमा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नाम पनि लेखेको प्रहरी दावी छ । नेकपाले भोजपुरमा आफ्ना कार्यकर्तालाई प्रहरीले गोली हानेर मारेको भन्दै त्यसको विरोधमा जेठ १३ गते नेपाल बन्दको आयोजना गरेको छ ।

Loading...