राजिनामा घोषणा गर्दा रुदै रुदै प्रधानमन्त्रीले दिएको भावुक मन्तव्य

जब म प्रधानमन्त्रीका रूपमा मेरो पछाडिको ढोकाबाट पहिलोपटक भित्र छिरें, तब मैले संयुक्त अधिराज्य (युनाइटेड किङ्डम) लाई सीमित शक्तिशालीहरूको मात्र होइन, सबैको देश बनाउने कोसिस गरें। र, युरोपियन युनियन जनमतसंग्रहको नतिजा लागू गर्न पनि प्रयास गरें।

सन् २०१६ मा फर्किंदा हामीले ब्रिटिस नागरिकलाई छनोटको विकल्प दियौं। सबै अनुमानका विपरीत ब्रिटिस नागरिकले युरोपियन युनियनबाट बाहिरिने पक्षमा मतदान गरे। म तीन वर्षअघि जस्तै आज पनि के कुरामा निश्चिन्त छु भने लोकतन्त्रमा यदि तपाईं नागरिकलाई छनोटको विकल्प दिनुहुन्छ भने उनीहरूले गरेको निर्णय कार्यान्वयन गर्नु तपाईंको कर्तव्य हुन्छ। मैले आफ्नोतर्फबाट त्यसो गर्ने पूरा कोसिस गरें।

हाम्रो बहिर्गमन र हाम्रा निकट छिमेकीहरूसँगको नयाँ सम्बन्धका सर्तहरूबारे मैले वार्ता गरें जसले रोजगार, हाम्रो सुरक्षा र एकतालाई सुरक्षित गर्थे। मैले सम्झौताबाट पछि हट्न सांसदहरूलाई सहमत गराउन सबैथोक गरें। तर दुःखको कुरा मैले त्यसो गर्न सकिनँ।

मैले तीनपटक कोसिस गरें। सफलताका बाबजुद वाधाहरू देखिए पनि निरन्तर प्रयास गरिरहनु उचित थियो भन्ने मेरो विश्वास छ। तर अहिले मलाई के कुरा प्रस्ट भएको छ भने अब नयाँ प्रधानमन्त्रीले उक्त प्रयासको नेतृत्व गर्नु राष्ट्रको सर्वोत्तम हितमा छ।

त्यसैले म आज कन्जर्भेटिभ तथा युनियनिस्ट पार्टीको नेताका रूपमा जुन ७ शुक्रबारदेखि लागू हुने गरी राजीनामा दिने घोषणा गर्दछु ताकि नयाँ उत्तराधिकारी चयन गर्न सकियोस्।

म पार्टी अध्यक्ष तथा सन् १९२२ कमिटी (बेलायती कन्र्जभेटिभ पार्टीको संसदीय दल) का अध्यक्षसँग सहमत छु किनभने आउँदो साता नयाँ नेता चयन प्रक्रिया सुरु हुनुपर्छ। मैले महामहिम महारानीलाई मेरो अभिप्रायबारे पूर्णरूपमा जानकारी गराइसकेकी छु र म यो प्रक्रियाले पूर्णता नपाएसम्मका लागि प्रधानमन्त्रीका रूपमा निरन्तर सेवा गरि नै रहनेछु।

ब्रेक्जिट लागू गर्न म असफल रहें। यसमा मलाई ठूलो पश्चात्ताप छ र यो सधैंभरि रहिरहनेछ। जनमतसंग्रहको नतिजाको सम्मान गर्ने र यसलाई अगाडि बढाउन मार्ग खोज्ने काम अब मेरा उत्तराधिकारीको हुनेछ। यसमा सफलता प्राप्त गर्न उनले प्रतिनिधिसभामा सहमति खोज्नुपर्नेछ, जुन मैले गर्न सकिनँ। त्यस्तो सहमतिमा पुग्न तब मात्र सम्भव हुनेछ जब बहसका सबै पक्षहरू एउटा सम्झौतामा पुग्न तयार हुनेछन्।

महान् मानवतावादी सर निकोलस विन्टन जसले नाजीनियन्त्रित चेकोस्लोभाकियाबाट सयौं बालबालिकाको उद्धार गरी उनीहरूको जीवन रक्षा गर्नुभयो, उहाँ मेडेनहेडमा मेरा मतदाता हुनुहुन्थ्यो।

निधन हुनुपूर्व राजनीतिक विवादको कुनै समय उहाँले मलाई एउटा स्थानीय कार्यक्रमको एकछेउमा लैजानुभयो र सुझाव दिनुभयो, ‘यो कुरा कहिल्यै नबिर्सनू कि सम्झौता कुनै फोहोरी शब्द होइन। जीवन नै सम्झौतामा निर्भर छ।’ उहाँ सही हुनुहुन्थ्यो।

हाम्रा पृष्ठभूमि जेसुकै होस्, हाम्रो रङ जेसुकै होस् अथवा हामीले जोसुकैलाई प्रेम गरौं। हामी सबै सँगै उभिन्छौं। र, एकअर्कासँगको सहकार्यले नै हाम्रो सुन्दर भविष्य निर्माण हुनेछ।

चाहे ब्रेक्जिटलाई लागू गर्ने कुरा होस् वा दक्षिणी आयरल्यान्डमा विघटित सरकारलाई पुनस्र्थापित गर्ने कुरा होस्, हाम्रो राजनीतिलाई आवश्यक सम्झौता खोजीको प्रयास गरिरहँदा हामीले यो सम्झनैपर्ने हुन्छ– हामीलाई यहाँ के कुराले ल्याएको हो ? किनभने जनमतसंग्रह युरोपियन युनियनबाट बाहिरिने आह्वान मात्र होइन, हाम्रो देशको गहन परिवर्तनका लागि पनि हो।

यो संयुक्त अधिराज्यलाई साँच्चै सबैका लागि काम गर्ने देश बनाउने आह्वान हो। गएका तीन वर्षमा हामीले गरेको प्रगतिप्रति म गर्व गर्छु। हामीले डेभिड क्यामरुन र जर्ज अस्बोर्नले थालेको कामलाई पूर्णता दिएका छौं। व्यापार घाटा लगभग अन्त्य भएको छ, हाम्रो राष्ट्रिय ऋण घटेको छ र सार्वजनिक खर्च कटौतीलाई करिब अन्त्य गरेका छौं।

मेरो ध्यान के कुरामा छ भने लन्डन र दक्षिणपूर्वमा मात्र होइन, आधुनिक औद्योगिक रणनीतिका माध्यमबाट देशका सबै समुदायमा भविष्यका लागि रोजगार सिर्जना हुन सकून्।

हामीले इतिहासमै सबैभन्दा धेरै मानिसलाई आफ्नो रोजगारको सुरक्षा हुने ग्यारेन्टी गरेका छौं। हामीले अझ धेरै आवासीय क्षेत्रहरू निर्माण गरेका छौं र पहिलोपटक घर किन्नेहरूलाई प्राथमिकता दिएका छौं ताकि युवा पुस्ताले ती अवसरको उपभोग गर्न सकून् जो उनका अभिभावकले गरेका थिए। र, हामीले वातावरण संरक्षण गरेका छौं, प्लास्टिकजन्य फोहोर निर्मूल पारेका छौं, जलवायु परिवर्तनसँग जुधिरहेका छौं र हावाको गुणस्तरमा सुधार गरेका छौं।

ब्रिटिस राजनीतिको साझा विन्दुमा उभिएर एउटा सभ्य, मध्यमार्गी र देशभक्त कन्जर्भेटिभ सरकारले हासिल गर्न सक्ने यति नै हो। यद्यपि, कुनै पनि सरकारले गर्नुनपरेको सबैभन्दा ठूलो चुनौती पनि यही सरकारले सामना गर्नुपर्‍यो।

मलाई थाहा छ– कन्जर्भेटिभ पार्टीले आउँदा वर्षमा आफूलाई नवीकरण गर्ने सक्नेछ। ताकि हामी ब्रक्जिटलाई लागू गर्न सकौं र ब्रिटिस नागरिकलाई हाम्रो मूल्यमा आधारित नीतिसहित सेवा गर्न सकौं। ती हुन्— सुरक्षा, स्वतन्त्रता र अवसर। यी मूल्यले मलाई मेरो करिअरको पूरै अवधि मलाई डोर्‍यायो। तर यो पदको अद्वितीय विशेषाधिकार के छ भने यो स्थानलाई आवाजविहीनहरूको आवाज बनाउन प्रयोग गर्न सकिन्छ र तमाम अन्यायविरुद्ध लड्न सकिन्छ। यसले हाम्रो समाजमा अझै घाउ बनाएको छ।

यसैकारण मैले राष्ट्रिय स्वास्थ्य सेवाजस्तो दीर्घकालीन योजनाको केन्द्रमा मानसिक स्वास्थ्यलाई राखें र त्यसका लागि आवश्यक कोष उपलब्ध गराएँ। ‘पोस्ट कोड लट्री’ बन्द गरेर घरेलु हिंसाका पीडितहरूको संरक्षणका लागि नयाँ कानुन ल्याएका छौं। ‘रेस डिस्पारिटी अडिट’ र लैंगिक रिपोर्टिङले असमानताबारे प्रस्ट पारिसकेकाले यसमा लुकाउनुपर्ने केही छैन।

र, यसैकारण मैले ग्रेनफेल टावरमा भएको आगलागीको स्वतन्त्र जाँचबुझ आयोग बनाएकी छु ताकि सत्यको खोजी गर्न सकियोस् र फेरि यस्तो कहिल्यै नहोस्। र, जसले उक्त रात आफ्नो जीवन गुमाए, उनीहरू सधैं स्मरणीय भइरहून्।

यो देश चार राष्ट्रहरूको परिवार मात्र होइन, यो देश एउटा युनियन हो। त्यसभन्दा माथि यो मानिसहरूको युनियन हो, नागरिकहरूको युनियन हो हामी सबैको। हाम्रा पृष्ठभूमि जेसुकै होस्, हाम्रो रङ जेसुकै होस् अथवा हामीले जोसुकैलाई प्रेम गरौं। हामी सबै सँगै उभिन्छौं। र, एकअर्कासँगको सहकार्यले नै हाम्रो सुन्दर भविष्य निर्माण हुनेछ।

हाम्रो राजनीतिमा उचारचढाव होला तर यो देशबारे धेरै राम्रा कुरा छन्। गर्व गर्नका लागि धेरै कुरा छन्। आशावादी बन्नका लागि प्रशस्त कुरा छन्।मैले चाँडै यो पद त्याग्दै छु जुन मेरो जीवनको सबैभन्दा सम्मानित जिम्मेवारी रह्यो। मुलुकको दोस्रो महिला प्रधानमन्त्री पक्कै पनि अन्तिम होइन।यसो गरिरहँदा ममा कुनै कटुता वा तीक्तता छैन। बरु मैले प्रेम गरेको देशको सेवा गर्ने अवसर पाएकोमा म ठूलो तथा चिरस्थायी आभार प्रकट गर्न चाहन्छु।

(बेलायतकी प्रधानमन्त्री थेरेसा मेको राजीनामा मन्तव्यको अनुवाद। १३ जुलाई २०१६ मा प्रधानमन्त्री निर्वाचित मेले शुक्रबार राजीनामा घोषणा गरेकी हुन्।)

Loading...