क्रूर बन्दै समाज: व्यस्त बजारमा एक युवामाथि दिउसै लखेटी लखेटी खुकुरी प्रहार

धादिङ, १२ जेठ । धादिङमा एक जना युवामाथि दिउसै लखेटी लखेटी खुकुरी प्रहार भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नं ३ पुछारबजारमा यसरी खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट युवक घाइते भएका छन्।

यसरी खुकुरी प्रहारबाट घाइते भएका व्यक्ति हुन प्रकाश तिमिल्सेना । नीलकण्ठ नगरपालिका १३ का प्रकाश तिमिल्सेनालाइृ सोही ठाउँका चन्द्र गुरुङले खुकुरी प्रहार गरेका हुन् । व्यस्त सडकमै गुरुङले तिमिल्सेनामाथि खुकुरी प्रहार गर्दै लखेटे पनि उनले भागीभागी छक्याउँदै ज्यान जोगाउन सफल भएका छन्। घाइते तिमिल्सेनाको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ।

मोटरसाइकलमा आएका गुरुङले बीच सडकमै खुकुरी लिएर तिमिल्सेनालाई लखेट्न थालेपछि बजारबासी त्रसित भएका थिए । स्थानीय प्रत्यक्षदर्शी दयाराम लंसालले यस्तो घटना आफूले कहिले पनि नदेखेको र आफूसँगै बजारबासी निकै डराएको बताए । लगातार खुकुरी प्रहार भएपछि तिमल्सेना भाग्दै छल्दै गरेकाले ठूलो घटना नघटेको उनले बताए।

बजारमा यसरी एक व्यक्तिमाथि खुकुरी प्रहार भइरहेको र अझै खुकुरीले लखेटदै गरेको भए पनि प्रहरी समयमै पुग्न नसकेको बताइएको छ । खुकुरी प्रहार गर्ने गुरुङ केही समय लखेटेर त्यसपछि प्रहरी विटको छेवैबाट फरार भएका थिए । पछि आइपुगेको प्रहरीले उनलाइ लखेट्दै प्रहरी गए पनि उनी पक्राउ परेका छैनन्।

स्थानीयवासीका अनुसार बाटो बनाउने उपभोक्ता समिति निर्माणको क्रममा विवाद भएपछि यस्तो घटना घटेको हो । दुबै जना एकै ठाउँका वासिन्दा र साथी भएको समेत खुलेको छ ।

नीलकण्ठ नगरपालिका १३ र १४ जोड्ने बाटो बनाउनको लागि प्रदेश सांसद रामकुमार अधिकारी मार्फत बजेट विनियोजन गरिएको र उक्त योजना कार्यान्वयन गर्नको लागि उपभोक्ता समिति निर्माण गर्ने क्रममा विवाद बढ्दै गएपछि खुकरी प्रहार भएको स्थानीयहरुले बताएका छन्।

यसैबीच गुरुङलाई तत्काल पक्राउ गर्न माग गदै वाइसीएल र युवासंघले पुछारबजारमा आधा घण्टा चक्काजाम गरेको छ। दोषीलाइ पक्राउ गरी तत्काल कारवाही गर्न माग गर्दै उनीहरूले विरोधस्वरुप चक्काजाम गरेका हुन्।

केहीदिन अघि पाँचथरमा एकै ठाउँमा ९ जनाकाे खुकुरी प्रहारबाट हत्या गरिएकाे थियाे । उक्त घटना पनि एकै व्यक्तिले घटाएकाे बताइएकाे छ । हिजाेअाज यस्ता घटना बढ्दै गएका छन् । यसले समाज क्रूर बन्दै गएकाे देखाउँछ । 

Loading...