सगरमाथामा १० आरोहीको मृत्यु

काठमाडौँ, ११ जेठ । विश्वकाे सर्वाेच शिखर सगरमाथा आराेहण गर्न गएका १० जना आराेहीकाे मृत्यु भएकाे छ । उनीहरुकाे एक हप्ताकाे अन्तरालमा मृत्यु भएकाे हाे ।

शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन्। शनिबार सगरमाथाको चुचुरोमा पाइला टेकेर फर्कंने क्रममा लडेर फिसरकाे ज्यान गएको बताइएको छ।

एभरेस्ट परिवार एक्स्पिडिसनका अधिकारी मुरारी शर्माले भने, ‘हाम्रा गाइडले उनलाई बचाउन गरेको प्रयास सफल भएन। उनको निधन भयो।’

शुक्रबारमात्र सगरमाथाको तिब्बती क्षेत्रमा एक आइरिस पर्वतारोहीको मृत्यु भएको थियो। सगरमाथा आरोहण अभियानका आयोजकले आफ्नो फेसबुक पेजमा ५६ वर्षीय आइरिस आरोहीको मृत्यु भएको पुष्टि गर्दै भनेको छ,‘उनी सर्वोच्च शिखरमा नपुगी फर्किएका थिए। उनको टेन्टमै मृत्यु भएको थियो।’

गत हप्ता भारत, अमेरिका, अस्ट्रिया र नेपाल गरी ४ पर्वतारोहीको मृत्यु भएको थियो। केही दिन अगाडिमात्र अर्का एक पर्वतारोही सगरमाथा चढ्ने क्रममा लडेर बेपत्ता भएको जनाइएको छ। उनको समेत मृत्यु भएको आशंका गरिएको छ।

सगरमाथामा ट्राफिक जामको घटनाले पर्वतारोहीको मृत्यु भएको खबरकाबीच यहाँ मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

यो हप्ता ४ जनाको सगरमाथामा ट्राफिक जाम भएका कारण मृत्यु भएको छ। बुधबार एक भारतीय र एक अमेरिकी नागरिकको सगरमाथामा ट्राफिक जामका कारण मृत्यु भएको थियो भने बिहीबार भारतका ५२ वर्षीया कल्पना दास र २७ वर्षीय नाहिल बागवानको ट्राफिक जामकै कारण मृत्यु भएको थियो।

नेपालले यसपटकको बसन्त ऋतुमा ३सय ८१ जना विदेशी पर्वतारोहीलाई सगरमाथा आरोहणको अनुमति दिएको छ। उनीहरुले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर तिर्छन्। प्रत्येक पर्वतारोहीले एक शेर्पालाई गाइडको रुपमा लाने गर्छन्।

यसरी मानिसहरु धेरै भएपछि सगरमाथामा मानिसहरुको भिड हुन्छ। यसरी त्यहाँ जाम हुने गरेको छ। जाम हुँदा कयौंघन्टा एकै स्थानमा बस्दा पर्वतारोहीको स्वास्थ्यमा असर पुग्ने र मृत्युको खतरा निम्तने गरेको छ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सगरमाथामा ट्राफिक जाम हुँदा एकै स्थानमा धेरैबेर बस्नुपर्ने हुन्छ। यसले लेक लाग्ने समस्या हुने र कयौंले ज्यान गुमाउने उनको भनाइ छ।

नेपाल सरकारका अनुसार शुक्रबारमात्र नेपाली क्षेत्रबाट ६ सय पर्वतारोही सगरमाथाको शिखरमा पुगे। तिब्बती क्षेत्रबाट हाल १ सय ४० जनालाई सगरमाथा आरोहणको अनुमति दिइएको छ। अप्रिल र मे महिनालाई सगरमाथा आरोहण गर्ने उपयुक्त समयको रुपमा लिइन्छ। तर सगरमाथामा हुने ट्राफिक जामले पर्वतारोहीको ज्यान जाने गरेको छ। केहीको भने लडेर मृत्यु हुने गरेको छ।

स्थानीय भ्रमण आयोजक केसब पौडेलले बिहीबार १२ घन्टासम्म एकै स्थानमा बस्दा भारतका नाहिल बागवानको मृत्यु भएका बताए। अर्की भारतीय पर्वतारोही कल्पना दासले भने सन् २००८ मै सगरमाथाको सफल आरोहण गरेकी थिइन्। तर संयौको लाइनमा ट्राफिक जाममा फसेकी उनी यसपटक भने असफल भइन्।

Loading...