अग्नि परीक्षामा अमनलाल मोदी

काठमाडाैं । तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की भ्रष्टाचारी भएको आवाज उठाउने र उनलाई कारवाही गराउने सम्मको ल्याकत राख्ने युवा नेता तथा सत्तारुढ नेकपा सांसद अमनलाल मोदीलाई यसपटक भने ठुलै अप्ठ्यारो आइलाग्यो ।

मंगलवार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई अमनलालले भ्रष्टाचारी भएको आरोप लगाएपछि उनी एकाएक भाइरल भए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई भ्रष्टाचारी भएको प्रमाणित गर्न चुनौती दिंदै प्रमाणित गरे झुन्डिएर मर्न तयार रहेको बताएपछि घिसिङ प्रति आक्रामक रहेका मोदी एकाएक रक्षात्मक बन्न बाध्य भए ।

प्राधिकरणविरुद्ध कोशी कोरिडोर लगायतका योजनामा लेखा समितिमा रहेको उजुरी उपर बोल्दै मोरंग क्षेत्र नम्बर ४ का निर्वाचित सांसद मोदीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान भ्रष्टाचारी भएको भनिरहदा मानिसहरुले उनका कुरा भन्दा घिसिङको मर्न तयार रहेको कुरा मन पराए । लोड्सेडिङ्गले आक्रान्त जनतालाई उज्यालो दिएर गुन लगाएका कुलमान भ्रष्टाचारी भएको भन्ने आरोप सुन्न समेत तयार देखिएनन मानिसहरु । लेखा समितिमा सांसद मोदी र कार्यकारी निर्देशक कुलमानवीच भएको भनाभनले संचार जगतमा ठुलो चर्चा पायो ।

त्यतिमात्र होइन , उल्दै सांसद मोदीले नै कुरा मिलाउन ५ लाख मागेको भन्ने पनि समाचारहरु बाहिर आए । सांसद मोदीको निर्वाचन क्षेत्र मोरङको ग्रामथान गाउँपालिकाको गिदनियामा स्थानीयलाई उकासेर दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा बाधा पुर्याइएको र पैसा पाए समस्या सुल्झाइदिने भनेको हल्लाले समेत बजार निकै ततायो ।

कटहरी सबस्टेसन तत्काल चार्ज गर्न नसके विराटनगरमा फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्था आउने र त्यसको लागि सांसद मोदी जिम्मेवार हुनुपर्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणले पोलमा साढे दुई किलोमिटर तार तान्न सकेको छैन । सांसद मोदीले स्थानीयको मागलाई साथ दिँदै प्रसारण लाइनको तार तान्न नदिएको प्राधिकरणको जिकिर छ । कतिपयले विराटनगरका ब्यापारीले चन्दा नदिएकोले तार तान्न नदिएको भन्दै सांसद मोदीमाथि औला ठड्याए भने कहिले चाहि उल्टै मोदीले व्यापारीको बिजुली महसुल मिनाहा गराउन प्रपन्च गरेको हल्ला समेत फिंजाए ।

कुलमान माथि आक्रामक ढंगमा प्रस्तुत भएका सांसद मोदीलाई नसोचेको अपजस व्यहोर्नु पर्यो । यद्यपि उनी कुलमानलाई ‘देवत्वकरण’ गर्नेहरुले उनका हरेक खरावी पचाएको दावी गर्दै आफू सहि भएको प्रमाणित गरेरै छाड्ने कुरामा दृढ नै देखिन्छन ।

यसैबीच बिहीवार मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त प्रेस बिज्ञप्ति प्रकाशित गर्दै लेखा समितिमा भएको भनाभनको बिषयले कसैलाई पनि क्षणिक तुस्ती बाहेक केही लाभ नहुने भन्दै मानहानी हुने किसिमका कुरा नगर्न र शंकामा समाचार नबनाउन समेत अपील गरेको छ । सांसद मोदीले आफ्नो तर्फबाट आयोजनालाई सहयोग गरिरहेको र स्थानीयसँग समन्वय गरिरहेको अवस्थामा मानमर्दन हुने किसिमले नलेख्न बिज्ञप्तीमा भनिएको छ ।  विज्ञप्तीमार्फत सामाचारमा आएजस्तो व्यापारीसँग सांसद मोदीले पैसा मागेको कुरामा कुनै पनि सत्यता नभएको समेत स्पष्ट पारिएको छ ।

सांसद भएपछी स्थानीय मतदाता र जनताको वकालत त गर्नै पर्यो । मतदाताको पक्षमा लागेर उनीहरुको मागको व्यवस्थापन गरेर आयोजनाको काम अघि बढाउने सांसद मोदीको चाहना हुदो हो सायद । तर, बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई भ्रष्टाचारीको आरोप लगाएपछि मुद्दा विषयान्तर भएर उनकै नियतमा प्रश्न उठ्नु उनको राजनीतिक जीवनको जोड घटाउको बिषयबस्तु बन्न पुगेको छ । यतिबेला अग्नि परीक्षामा छन सांसद अमनलाल मोदी । यो घटना यत्तिकै सेलाउछ वा निष्कर्षमा पुग्छ ? यसले आगामी दिनमा कस्तो असर देखाउछ त्यो भने हेर्न बाँकी नै छ । 

Loading...