सातवटा टावर सदरमुकाममै अलपत्र परेपछि ६ महिनादेखि जाजरकोटमा टेलिफोन सेवा अवरुद्ध

काठमाडाैं । नेपाल टेलिकमले अावश्यक चासाे नदिँदा जाजरकाेटवासी टेलिफाेन सेवाबाट बञ्चित भएका छन् । जिल्ला सदरमुकामभन्दा बाहिर अहिले पनि टेलिफाेन सेवा राम्ररी सुरु हुन सकेकाे छैन । नेपाल टेलिकमकाे जिएसएम प्रविधि नमस्तेको टावर समयमै निर्माण नहुँदा जिल्लावासी टेलिफाेन सेवाबाट बञ्चित भएका हुन् ।

जिल्लाका विभिन्न ठाउँमा निर्माण गर्ने भनि सदरमुकामसम्म ढुवानी गरि ल्याइएका नमस्तेका टावर सदरमुकाममै अलपत्र भएका छन् । निर्माण सामाग्री सदरमुकाममा अलपत्र भएपनि निर्माण कम्पनीले कुनै चासो देखाएका छैनन् । डाडागाउँ, मजकोट, नायकवाडा, पैँक, सेरी, साल्मा र सक्लामा निर्माण गर्ने भनिएका टावर सदरमुकाममै अलपत्र परेका हुन् ।

सदरमुकाममाको शान्तिचौतारामा गत पुस ३ गते नेपालगन्जबाट ढुवानी गरि ल्याइएको टावरका सामग्रीहरु निर्माणको जिम्मा लिएको कम्पनीले ढुवानी गरी गाउँमा नलिदा टावर निर्माणमा ढिलाई भएको हो । स्टार नेपाल प्रालिले जाजरकोटमा टावर निर्माणका लागि ठेक्का लिएको छ । टावर निर्माणको जिम्मेवारी पाए पनि अप्ठयारो भूभाग भएकाले टावरका सामग्री ढुवानीमा समस्या परेको कम्पनीका भोजराज बडुले बताए । निर्माण कम्पनीले कम मुल्यमा सामग्री ढुवानी गर्न खोजेपछि टावरका सामग्री सदरमुकाम स्थित शान्ति चौतारामा थन्किएका हुन् ।

सदरमुकामबाट गाउँ, गाउँमा लिनका लागि तौल र दुरीका हिसावले धेरै लाग्ने भए पनि कम मुल्यमा ढुवानी गराउन खोज्दा सदरमुकाममा टावरका सामग्री थन्किएको कुशे गाउँपालिकाका पैँकका विकास रोकायले बताए । उनले भने, “हामीलाई कम मुल्यमा टावरका सामग्री बोकाउन खोजिएको छ तर कम मुल्यमा कसले गर्छ ? लागेको दरमा बाेकाउन नमान्ने तर नाफा मात्र खोज्दा समस्या भएको हो ।” सदरमुकामसम्म पुगेका सामानहरु गाउँमा समयमै ढुवानी गरी लिएको भए अहिलेसम्म टावर सञ्चालनमा आईसक्ने रोकायको भनाई छ । आफुले नेपालगन्जबाट जाजरकोट सदरमुकामसम्म शुल्क नै नलिएर टावरका सामग्री ढुवानी गरि लिएको तर अहिलेसम्म पैसा नपाएको उनले बताए ।

ढुवानी भाडाको कुरा नमिल्दा टावरका सामग्री निर्माणस्थलमा लिन नसकिएको बताउने निर्माण कम्पनीले नाफाका लागि मात्र काम गर्दा समस्या भएको स्थानीयवासीको आरोप छ । निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा जाजरकोट जनताले समयमै टेलिफोन सेवा पाउन सकेका छैन्न ।

अहिले जिल्लामा भएका टेलिफोन टावरमा सोलार व्याट्रीले काम नगर्दा आधा दिन मात्र सञ्चालन हुने गरेका छन् । नयाँ निर्माण गर्ने भनिएका टावरहरु समयमै निर्माण नहुनु र पुरानाको मर्मत नहुनुले जिल्लाको टेलिफोन सेवा सधै अवरुद्ध हुने गरेकाे छ ।

सरोकारवालको ताकेता कम हुँदा निर्माणको जिम्मा लिएका कम्पनीले काममा ढिलासुस्ती गरेका छन । जुनिचाँदे गाउँपालिकाको मजकोट, नलगाड नगरपालिकाको लहँ, डाँडागाउँमा टावर निर्माणका लागि जग मात्र खनिएको छ ।

त्यस्तै नलगाडकै हल्चौर गरायलामा आधा निर्माण भएको टावर बीचमै अलपत्र परेको छ । नेपाल टेलिकम जाजरकाेलाई टावर निर्माणको काम कहाँ र कुन ठाउँमा भइरहेको छ भन्ने चासो समेत नभएको स्थानीयवासीको आरोप छ । अग्ला डाँडा, रुख र घण्टौ हिडेर फोन गर्न बाध्य भएका स्थानीय र स्थानीय सरकारका प्रमुखहरु यसप्रति आक्रोश व्यक्त गर्दै आएका छन् ।

Loading...