बारबर्दियामा ‘सिकल सेल’ नियन्त्रणको मोडल अभियान

‘जनतामा समर्पित भएर काम गरे स्थानीय तह उदाहरण बन्न सक्छन’

बर्दिया, ७ जेठ । थारु समुदायमा आतंक बनेको सिकल सेल एनिमिया रोग नियन्त्रण गर्न बर्दियाको एक नगरपालिकाले नेपालमा पहिलो पटक ठूलो पाइलट प्रोजेक्ट सुरु गरेको छ ।

बारबर्दिया नगरपालिकाले आफ्नो नगरपालिकामा नेपालमै पहिलो पटक ‘सिकल सेल’ रोग सम्बन्धी अभियान सञ्चालन गरेको हो । उक्त नगरपालिकाका मेयर दुर्गाबहादुर थारु ‘कविर’ले आफैले पहल गरेर एक वर्ष अघि यो अभियान आफ्नो नगरपालिकाबाट सुरु गरेका हुन् । उनी थारु समुदायमा मात्र लाग्ने यो रोगका कारण कलिलो उमेरमै धेरैको मृत्यु हुने, रोगले घरका सबै परिवार नै थलिने र आर्थिक रुपमा पनि चरम अभाव झेल्ने गरेको देखेर यसका विरुद्धको अभियान थालेको बताउँछन् ।

बारबर्दिया नगरपालिकाले २०७५ चैत ९ गतेदेखि यो अभियान सुरु गरेको हो । एक वर्ष लगाएर यस नगरपालिकाभित्र बसोवास गर्ने सबै थारु समुदायको घरघरमा गएर रगत परिक्षण गराइएको छ । अहिले पनि उक्त कार्य जारी रहेको नगरप्रमुख थारुले जानकारी दिए ।

बारबर्दिया नगरपालिकाभित्र एक वर्षमा २४ हजार भन्दा बढीको रगत परिक्षण गरिएको छ । यो अभियान अन्तर्गत नगरपालिकाभित्र रहेका १ वर्षदेखि २९ वर्ष उमेर समूहका व्यक्तिहरुको रगत परिक्षा गरिएको थियो । रगत परिक्षणपछि अब दोस्रो चरणमा सामुदायिक काउन्सिलिङ अभियान पनि चलाउने नगरप्रमुख थारुले जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट विज्ञ टोली नै लगेर घरघरमा पठाइएको उनले बताए ।

यसभन्दा अघि लामो समयसम्म थारु समुदायका मात्र यो रोग लाग्ने थाहा भइसकेको थिएन । अहिले पनि मानिसहरु उपचारका लागि कहिले नेपालगञ्ज, काठमाडौं, भारतको लखनउ, दिल्ली धाउनुपर्ने अवस्था छ । त्यति ठाउँमा जाँदा पनि सुरु सुरुमा रोग नै पत्ता लाग्ने गरेको थिएन । लामो समय उपचार गर्दा पनि रोग पत्ता नलागेका कारण थारु समुदायका सिकल सेल एनिमियाबाट पीडित व्यक्तिहरुले लाखौ रकम खर्च गर्नुपर्ने अवस्था थियो । अहिले नगरपालिकाले घरघरमै विज्ञहरुको टोली लगिदिएपछि नगरवासीहरु निकै खुसी भएका छन् ।

नगरपप्रमुख थारु अहिले यसका बारेमा आफ्नो नगरपालिकाभित्रका विद्यालयहरुमा पाठ्यसामाग्री राखेर अध्यापन नै गराउने व्यवस्था गरिएको बताउँछन् । उनी भन्छन्, “यो अभियानमा हामीले पाँच वटा कुरा जोडेका छौं । पहिलो, समुदायमा आधारित स्वास्थ्य जाँच, सिकल सेल जाँच । दोस्रो, रगत परिक्षण र स्वास्थ्यजाँचपछि समुदायमा आधारित काउन्सिलिङ दिने । तेस्रो, सिकल सेल एनिमिया रोगसम्बन्धी सचेतना बढाउन स्थानीय विद्यालयमा पाठ्यसामाग्री तयार पारेर ९ र १० मा पढाइ गर्ने गरेका छौ । चौथो, अब ९ महिना पुगेपछि सबै बच्चालाई दादुरा खोप लगाउँदा अनिवार्य सिकल सेल परिक्षण गर्ने । पाँचौ, नगरपालिकाभित्रका प्राथमिक स्वास्थ्य सेवा केन्द्रबाटै सिकल सेल एनिमिया रोगको उपचार सुरु गरेका छौं ।” अहिले यस क्षेत्रका शिक्षक, स्वास्थ्यकर्मीहरुलाइ समेत सिकल सेलका बारेमा अभिमुखीकरण तालिम दिने समेत गरिएकाे उनले बताए । 

स्थानीय स्वास्थ्य केन्द्रहरुमा नै यो रोगको परिक्षण गर्ने र उपचार गर्ने व्यवस्था नेपालमै पहिलो पटक गरिएको दावी मेयर थारुको छ । उनले विद्यालयको पाठ्यक्रममा नै यो विषयमा पढाउने व्यवस्था गरिएकोले अब आफ्नो नगरपालिकाभित्र धेरै हदसम्म यो रोग नियन्त्रणमा आउने आशा व्यक्त गरे । समुदायमा पनि अहिले उनीप्रति धेरैले आभार व्यक्त गर्ने गरेका छन् ।

नेपालका तराईका २० जिल्लामा थारु समुदायको बसोवास रहेको छ । राष्ट्रिय जनगणना अनुसार नेपालमा थारु समुदायको जनसंख्या १८ लाख जति छ । कुनै बेला यस क्षेत्रमा मलेरियाको ठूलो प्रभाव रहेको थियो । मलेरियासँग लडेर ४०÷५० पुस्तादेखि निरन्तर बसोबास गरेका थारु समुदायको जीनमा मलेरियासँग लड्दा लड्दै नयाँ परिवर्तन आएको र जीनमा आएको नयाँ परिवर्तनले ‘सिकल सेल एनिमिया’ हुन पुगेको विज्ञहरुको भनाई छ । सिकल सेल एनिमिया भएका विरामीबाट उनीहरुका सन्तानहरुमा वंशाणुगत रुपमा सर्दै जाँदा यो अवस्था आएको हो । यदि आमा र बुवा दुबै जनालाई सिकल सेल एनिमिया रोग लागेको खण्डमा बच्चामा यो रोग हुने पक्का हुन्छ ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जका प्रमुख डा. श्यामसुन्दर यादवका अनुसार यो वंशाणुगत रुपमा सर्ने रक्तअल्पता सम्बन्धी रोग हो । स्वस्थ मानिसको शरिरमा हुने रक्तकोष गोलो हुन्छ तर सिकल सेल एनिमियाका विरामीहरुको रक्तकोष हसिया आकारको हुन्छ । रक्तकोषको आयु सामान्यतया १२० दिन हुन्छ । तर, गोलो हुनुपर्ने रक्तकोष हसिया आकारको हुने र त्यो रगतमा दौडन नसक्ने हुँदा त्यस्ता विरामीका रक्तकोषहरु २०-२२ दिनमै मर्छन । अनि शरीरका अंगहरुमा अक्सिजन र न्यूट्रेसन पुग्दैन र त्यहाँको तन्तु मर्छ । त्यसपछि मांसपेसी, जोनी र छाती दुख्ने समस्या देखिन थाल्छ ।

सिकल सेल एनिमिया रोगका रोगीहरुमा देखिने प्रमुख समस्या भनेको शरिरमा रगतको कमी हुनु हो । साथै कुनै सामान्य संक्रमण हुँदा पनि अन्य विरामीको तुलनामा बढी असर देखिने गर्दछ । समयमै उपचार नपाए विरामीकाृ मृत्युसम्म हुनसक्छ । यो रोगका कारण थारु समुदायमा थुप्रैको कलिलो उमेरमै मृत्यु भएको छ । बाँचुन्जेल उपचार गरिरहनुपर्ने अवस्था पनि छ । जसले गर्दा सिकल सेल एनिमिया रोग थारु समुदायका लागि खतरा बनेको छ ।

डा. श्यामसुन्दर यादवका अनुसार सिकल सेल एनिमिया भए नभएको एकिन गर्न रगतको हिमोग्लोविन इलेक्ट्रोफोसिसको परिक्षण गर्नुपर्छ । सिकल सेल प्रभावित पश्चिम नेपालका सरकारी अस्पतालमा अझै यो सुविधा उपलब्ध छैन । महंगो शुल्क तिरेर काठमाडौं वा भारतको दिल्ली, हरियाणाका निजी प्रयोगशालामा पठाउनुपर्छ ।

डा. यादवका अनुसार सिकल सेल एनिमिया रोग भएका विरामीहरु पूर्ण रुपमा निको हुन गाह्रो हुन्छ । तर, नियमित रुपमा औषधी सेवन गरेमा रोगलाई नियन्त्रणमा राखेर आयु लम्ब्याउन सकिन्छ । त्यस्ता विरामीहरुको स्वास्थ्य अवस्था अनुसार एक महिनादेखि पाँच वर्षको अवधिमा नियमित रुपमा रगत चढाइरहनुपर्छ ।

यस्तो भयानक समस्याका रुपमा रहेको यो रोगलाई केन्द्रीय तहमै अभियान बनाएर नियन्त्रण गर्न सकिने बारबर्दिया थारुको भनाई छ । उनले यसलाई बारबर्दिया मोडलको नामाकरण पनि दिएका छन् । जनताको स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पति भएकोले यो अभियान सुरु गरेको उनी बताउँछन् । उनले जनतामा समर्पित भएर काम गरे धेरै काम हुन सक्ने पनि बताए । 

Loading...