सुमार्गीलाई ४ अर्ब कर तिर्न राजस्व कार्यालयको ताकेता, राजश्वको पत्र बुझ्नै मान्दैनन सुमार्गी

काठमाडौं, ७ जेठ । आन्तरिक राजस्व कार्यालयले व्यापारी अजेयराज सुमार्गीलाई साढे ४ अर्ब बढी राजश्व तिर्न ताकेता गरेकाे छ । विवादित व्यापारी सुमार्गीकाे कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेकाे भेटिएपछि यस्ताे ताकेता गरिएकाे हाे ।

सुमार्गीले कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरेका थिए । तर उनले त्यतिबेला सरकारलाई पुँजीगत लाभकर बुझाएका थिएनन् ।

आन्तरिक राजस्व कार्यालय बानेश्वरले सुमार्गीलाइ जरिवानासहित ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार पुँजीगत लाभकर निर्धारण गरेको छ । कार्यालयले वैशाख दोस्रो सातादेखि कर तिर्न सुमार्गीलाई ताकेता गरिरहेको भए पनि अहिलेसम्म उनले तिरेका छैनन ।

सुमार्गीले नेपाल स्याटेलाइट कम्पनीको ७५ प्रतिशत सेयर ५ अर्ब ७१ करोड रुपैयाँमा बिक्री गर्दा ५ अर्ब ६३ करोड ५० लाख रुपैयाँ लाभ भएको देखिएकाे छ । त्याे पुँजीगत लाभमा कर लाग्ने राजस्व कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त रकममध्ये १ अर्ब ४० करोड ८७ लाख ५० हजार पुँजीगत लाभकर हुनुपर्नेमा यो अवधिको जरिवानासहित साढे ४ अर्ब पुगेको हो ।

अचम्म त याे छ कि सुमार्गीले राजश्व कार्यालयकाे पत्र नै बुझ्न नमानेकाे देखिएकाे छ । उनले कर निर्धारण गरेको पत्र बुझ्न नमानेपछि राजश्व कार्यालयले इमेल ठेगाना र हुलाकमार्फत उक्त पत्र पठाइएको बुझिएकाे छ ।

राजश्व कार्यालयले वैशाख १२ गते याे सूचना सुमार्गीकाे कम्पनीको इमेल ठेगानामा पठाइएको विज्ञप्तिमा उल्लेख गरेकाे छ । ‘करदाताका प्रतिनिधिले वैशाख १६ मा पत्र बुझी वैशाख २७ मा यस कार्यालयमा सोको जवाफ दर्ता भएको थियो,’ कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कर निर्धारण आदेश जारी गरी जेठ १ गते त्यस प्रालिमा बुझाउन पठाइएकोमा कम्पनीबाट बुझ्न अस्वीकार गरी पत्र फिर्ता भएको छ ।’

नेपाल स्याटेलाइटको सेयर बिक्रीका लागि प्रयोग गरिएको साइप्रसस्थित एयरवेल कम्पनी यसअघि पनि विवादमा छ । खोज पत्रकारिता केन्द्र (खोपके) र दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस् (आईसीआईजे) ले माघमा सार्वजनिक गरेको तथ्यअनुसार साइप्रसको एयरवेल कम्पनीमा पनि सुमार्गीकै लगानी छ । ‘साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र हालसम्म पनि सक्रिय यो कम्पनी सन् २००८ मा खोलिएको हो,’ नेपालिक्स नाम दिइएको उक्त खुलासामा भनिएको छ ।

सुमार्गी मात्रै हैन, एयरवेलमा नेपालस्थित सुमार्गीको कम्पनी मुक्तिश्री प्रालिमा काम गर्ने अर्जुन शर्मा, ब्रिटिस भर्जिन आइल्यान्ड्सको जोधार इन्भेस्टमेन्ट्स प्रालि र अरू १२ जना विदेशी नागरिक लगानीकर्ता छन् । सुमार्गीले यही कम्पनीबाट विदेशी लगानी भन्दै अर्बौं रकम भित्र्याएका थिए । ‘सुमार्गीले साइप्रसस्थित आफ्नै लगानी रहेको कम्पनीबाट नेपालमा वैदेशिक लगानी भनी पटक-पटक रकम भित्र्याएका थिए,’ खुलासामा भनिएको छ ।

सन् २००८ देखि २०१३ सम्म सुमार्गीले ९ पटकमा ६ करोड ३१ लाख ८५ हजार ५३३ अमेरिकी डलर (६ अर्ब ३१ करोड ८५ लाख ५३ हजार ३५५ रुपैयाँ) एयरवेलबाट आफ्ना नेपाली कम्पनीमा भित्र्याएका छन् । २०७४ पुसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तयार गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उक्त रकम अवैध हो । महालेखा परीक्षकको प्रतिवेदनले पनि नेपाल स्याटेलाइटको सेयर बिक्री गर्दा सुमार्गीले कर छली गरेको औंल्याइ सकेको छ । महालेखाको ५४ औं प्रतिवेदनअनुसार दुई पटक गरेर सुमार्गीले ९५ करोड ५० लाख र ४५ करोड ३८ लाख रुपैयाँ कर छलेका छन् ।

Loading...