दुबै मृगौलाले काम गर्न छाडेका चापागाईको बाँच्नका लागि सहयोगको अपिल

काठमाडाैं । दुवै मृगौला फेल भएर पीडित सूर्याेदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईंले सहयोगको आग्रह गरेका छन् । डेढ महिनायता काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत ५१ वर्षे चापागाईंले अहिलेसम्म उपचार गर्दा भए भरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग याचना गरेका हुन् ।

पीडितका परिवारजन र आफन्तले उपचारमा सहयोग जुटाउने पहल गरिदिन सञ्चारकर्मीसँग आग्रह गरे । पीडितका भतिजा हेमचन्द्रले दुवै मृगौला प्रत्यारोपण गर्न २२ लाख रुपैयाँ खर्च हुने बताए । ‘आर्थिक अवस्था कमजोर भएकाले परिवारले यतिको रकम जुटाउन असम्भव भएर सहयोग गुहार्नुपरेको छ,’ उनले भने, ‘सम्पत्तिका नाममा भएको डेढ रोपनी जमिनसमेत उपचारमै खर्च भइसकेको छ ।’ उनले काका मित्रप्रसादको उपचार गर्दा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको बताए ।

मित्रप्रसादको मृगौला डाइलाइसिस गर्दा सातामा १० हजार रुपैयाँ खर्च भइरहेको छ । ‘सातामा २ पटक डाइलाइसिस गराउनुपर्छ,’ उनले भने, ‘सधैं डाइलाइसिस गरिरहन पनि भएन, भएभरको रकम अहिलेसम्मकै उपचारमा सकिइसक्यो ।’ जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिएको उनले जनाए ।

मित्रप्रसादको उपचार सहयोगका लागि कन्याम टोल विकास संस्थासमेत जुटेको छ । ‘हामी टोलबासी नै लागेर उहाँको उपचारमा सहयोग पहल गर्दैछौं,’ संस्था अध्यक्ष लेखनाथ दाहालले भने, ‘मित्रप्रसादको उपचार सहयोग रकम संकलन गर्न ग्लोबल बैंकको फिक्कल शाखामा लेखनाथ दाहाल र हेमचन्द्र चापागाईंको नाममा २७०७०१०००९४५४ नम्बरको खातासमेत खोलिसकेका छौं ।’ अध्यक्ष दाहालले पीडितको आर्थिक अवस्था दयनीय भएकाले उनको जीवन बचाइदिन देश–विदेशका आफन्तजन, इष्टमित्र र सहयोगी दाताले उपचारमा सहयोग जुटाइदिने अपेक्षा गरेको पनि बताए ।

मित्रप्रसाद केही वर्षयत काठमाडौंको एक होटलमा रोजगारी गरिरहेका छन् । आफ्नो रोजगारीले परिवार चलाउन नसकेपछि उनी करिब अढाई वर्ष भारतको दार्जिलिङ गएर त्यहाँ पनि होटलमै काम गरेर बसेका थिए । आफ्नो शरीरमा लामो समयदेखि रक्तचापको समस्या रहेकाले काठमाडौं नै फर्केर शिक्षण अस्पतालमा जाँच गराउँदा दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेको थियो ।

 

Loading...