पाँच तहका विचौलियाले यसरी बनाउँछन खानै नसकिने तरकारी

काठमाडौ, ७ जेठ । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढदा तरकारी महँगो हुने गरेको छ ।

केही महिनाअघि तराई क्षेत्रमा भएको हावाहुरी र भारतको निर्वाचनलाई देखाउँदै यतिबेला व्यवसायीले तरकारीको मूल्य अस्वाभाविक रूपमा बढाएका छन् । बढेको मूल्य किसानले भने पाएका छैनन् । वाणिज्य आपूर्ति तथा उपभोक्तँ संरक्ष्ँण विभागले तयार पारेको प्रतिवेदनअनुसार गोलभेंडाको मूल्य ५ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सरकारी निकाय मूल्य बढ्नु रहस्यमय भएको बताउँछ ।

कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । उक्त बजारमा दैनिक ९ सय टनसम्म तरकारी भित्रिएको छ । बजारमा मूल्य भने बढेको बढ्यै छ । विभागको टोलीले विभिन्न जिल्लाबाट उपत्यका भित्रिने मुख्य नाका थानकोट चेकपोस्टमा आइतबार मध्यरात विशेष अनुगमन गरेको थियो । प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले राति १० देखि ४ बजेसम्म तरकारी बोकेका ठूला/साना गरी करिब २० वटा ट्रकमा अनुगमन गरेको हो । ‘व्यवसायीहरूले विगतकै कैफियत दोहोर्‍याएको पाइयो । बिलबिजक जारी भएको छैन, किसानबाट कतिमा खरिद भयो, त्यो तरकारी कहाँ कतिमा बिक्री हुन्छ, तथ्यांक छैन,’ अनुगमन टोली संयोजक एवम् निरीक्षण अधिकृत पवन प्याकुरेलले भने ।

अनुगमन टोलीमा संलग्नका अनुसार व्यवसायीहरूले आफ्नो सूचनाका लागि तरकारीको परिमाण सानो डायरी/कापीमा लेख्ने गरेको पाइएको छ । केहीले व्यवसायीका नाममा इस्टमिट बिल मात्रै जारी गरेका छन् । यस्तो कैफियत पहिले पनि देखिएको थियो । ‘किसानसँग कौडीका भाउमा उठाउने र उपभोक्ताबाट बढी मूल्य असुल्ने मनसाय देखियो,’ अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘व्यवसाय अपारदर्शी छ । बिचौलिया हाबी हुँदा बजारमा समस्या देखियो ।’

सरकारले यसअघि बिचौलिया नियन्त्रण गर्ने दाबी गरेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको सयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो । किसानले तरकारी बेच्न पाउनुपर्ने, खुद्रा विक्रेताले ५ किलोभन्दा बढी बिक्री गर्दा अनिवार्य पान बिल दिनुपर्नेसहित दर्जनभन्दा बढी सुझाव कार्यदलले दिएको थियो तर ती सुझाव कार्यान्वयन भएका छैनन् । थोक व्यापारी उत्तमबहादुर अधिकारीले भ्याट बिलको कारोबार नभएको स्विकारे । ‘व्यवसाय कालीमाटीमै दर्ता गरेका छौं । संकलन गरेर भाइहरू तरकारी पठाउँछन् । हामी त्यहीअनुसार पठाउँछौं,’ उनले भने ।

‘बिल छैन । कतिमा खरिद/बिक्री हुन्छ भन्ने प्रमाण हुँदैन,’ उनले भने । उनका अनुसार व्यापारीले किसानलाई फोन गर्छन् । त्यहीअनुसार किसानले व्यापारीका नाममा डायरी/सानो कपीमा परिमाण लेखेर पठाउने गर्छन् ।

अधिकारीले किसानबाट काँक्रो १८ रुपैयाँ प्रतिकिलोमा खरिद गरेर कालीमाटी बजारका होलसेल व्यापारीलाई ३० रुपैयाँमा बिक्री गरेको बताए । कालीमाटी तरकारी बजारले प्रतिकिलो ६५ रुपैयाँ मूल्य निर्धारण गरेको छ । खुद्रा बजारमा आइपुग्दा ८५ देखि ९० रुपैयाँमा खरिदबिक्री भएको छ । किसानले गोलभेंडा करिब ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्छन् । कालीमाटी बजारसम्म आइपुग्दा बिचौलियाले भाउ १ सय १० पुर्‍याउँछन् । खुद्रा बजारमा १ सय ३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । किसानले २५ रुपैयाँमा बिक्री गरेको काउली खुद्रा बजारमा १ सय २० रुपैयाँमा बिक्री हुन्छ ।

बारीबाटै सिन्डिकेट

तरकारीमा सिन्डिकेट किसानको बारीमै सुरु हुन्छ । कतिपय व्यवसायीले मलबिउको मूल्य तरकारी बिक्री गरेर कटाउँछन् । तरकारीको दैनिक मूल्य किसानलाई जानकारी पनि हुँदैन । कालीमाटी तरकारी बजारका व्यवसायीले आफू अनुकूल मूल्य निर्धारण गर्दै आएका छन् । ‘किसानलाई पैसा खाँचो हुन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले मल, बिउ, तेल, चामलका लागि लगानी गर्छन्,’ अनुगमन क्रममा कालीमाटीमा तरकारी भित्र्याउँदै गरेको भेटिएका राजन श्रेष्ठले भने, ‘लगानी गरेपछि व्यवसायीले तरकारी किन्दा पैसा कटाउँछन् ।’

किसानबाट उपभोक्तासम्म आइपुग्दा करिब ५ तहमा मूल्य तोकिँदा उपभोक्तालाई चर्को मूल्य परेको हो । हाल उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक विक्रेता, साना थोक विक्रेता र खुद्रा विक्रेता गरी पाँच तहमा मूल्य निर्धारण हुँदै उपभोक्तासम्म तरकारी आउने गरेको छ । बिचौलियाको तह धेरै हुँदा समस्या भएको किसानहरू बताउँछन् । ‘हामीले कतिमा बिक्री गरेको हो, केही जानकारी हुँदैन । प्रतिकिलो ३०/४० मा बिक्री भएको तरकारी आफैं खरिद गर्दा ५०/६० रुपैयाँ किलो पर्छ ।’

उपत्यकामा १०० रुपैयाँसम्ममा बेच्छन् भन्ने सुनेका छौं,’ मध्यरातमा तरकारी बोकेको ट्रकसँगै आएकी धुनीबेंसी-२ की भगवती मोक्तानले भनिन्, ‘उचित मूल्य पाए राम्रो हुन्थ्यो । व्यापारीले एक तहमा मात्रै खाए हुन्थ्यो । अहिले उपभोक्तालाई महँगो तर किसानलाई सस्तो परिरहेको छ ।’ धुनीबेंसीका मधु राईले पनि बीचका व्यापारीले बढी मुनाफा राखेको बताए । ‘हामीले गोलभेंडा ५०/६० रुपैयाँमा बिक्री गर्दा व्यापारीले १ सय रुपैयाँमा बेच्छन्,’ उनले भने । तरकारीको दैनिक मूल्य कालीमाटी बजारमा पुगेपछि मात्रै निर्धारण हुने उनले बताए ।

तरकारी ढुवानीकर्ता सहदेव बस्नेतले पनि कालीमाटी र जिल्लाका व्यापारीले बढी मुनाफा राखेको बताए । उनी चित्लाङबाट काउली ढुवानी गरेर कालीमाटीका पसल नम्बर ४०२ मा पुर्‍याउने गर्छन् । ‘किसानसँग ३० रुपैयाँमा खरिद भएको तरकारी काठमाडौंमा कतिमा बिक्री हुन्छ, थाहा हुँदैन । सबै कालीमाटीले खाने हो,’ उनले भने, ‘हामी ढुवानी मात्रै गर्छौं । व्यापारीले कति पैसा लिन्छन्, हामीलाई थाहा हुँदैन ।’ कान्तिपुरबाट

Loading...