पर्वतमा बम विष्फोट हुँदा २ युवक घाइते

पर्वत । पर्वतमा आफैले बनाउदै गरेको बम बिस्फोटमा परी दुइ जना युवा घाइते भएका छन् । जिल्लाको बिहादी गाउँपालिका ६ शालिग्राममा ति दुइ युवाले बम बनाउँदै गर्दा बिष्फोट भएको हो ।

आइतबार साँझ फलामको पाइपमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिष्फोट भएको स्थानियहरुले बताएका छन् । बिष्फोटमा परि बिहादी ६ का २७ बर्षिय छबिलाल घर्ती र १९ बर्षिय समिर राना घाइते भएका छन ।

घाइतेहरु घर्ति र रानालाई उपचारका लागि तत्काल अस्पताल लगिएको प्रत्यक्षदर्शी स्थानियले सञ्चारकेन्द्रलाई बताएका छन् । गम्भीर घाइते भएका घर्तीको मिसन अस्पतालमा पाल्पामा उपचार भइरहेको छ भने अर्का घाइते रानाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले घाइतेहरुले माछा मार्नका लागि सलाईको बारुद्ध भरेर बम बनाउने गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । उनीहरुले बम बनाएर खोलामा माछा मार्न जाने तयारीका क्रममा बिष्फोट भएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए । आउदा दिनहरुमा यस्ता घटना हुन नदिनका लागि आफुहरुले बिशेष अप्रेशन नै चलाउने समेत निरीक्षक रानाले बताए ।

यसैबिच उता सुर्खेतको एक जंगलमा प्रहरीले १२ वटा बेबारिसे बन्दुक फेला पारेको छ । प्रहरी चौकी बड्डचीरबाट खटिएको टोलीले गस्तीका क्रममा जंगलमा बेबारिसे फालिएको अवस्थामा उक्त परिमाणका घरेलु भरुवा बन्दुक फेला पारेको हो ।

उक्त बन्दुक प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी प्रदीपबहादुर क्षेत्रीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पछिल्लो एक महिनामा अबैध हातहातियार खोज तलास अभियान अन्तर्गत बराहतालका स्थानीयले पक्राउ पर्ने डरले ती भरुवा बन्दुक जंगलमा वेबारिसे छोडि दिएको हुन सक्ने बताए ।

उनले बराहतालबाट यतिका धेरै बेबारिसे घरेलु हतियार फेला पर्नुले आफुहरुलाई सशंकित बनाएको र आवश्यक कारवाहीका लागि पुनः सर्च अभियानलाई तीव्रता दिइने बताए ।

Loading...