७ चोरीमा सम्लग्न भइ ६ वर्षदेखि फरार गुण्डा पक्रन प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीको सार्वधिक खोजीको सूचीमा रहेका सिन्धुपाल्चोकका तामाङ टोखामा रहेको सूचनापछि उनलाई पक्राउ गर्न सोमबार(आज) विहान टोखा पुगेको प्रहरीमाथि उनले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर विष्णु तामाङ घाइते भएका छन् । उनी सातवटा चोरीका घटनामा संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो । उनी ६ वर्षदेखि फरार रहँदै आएका थिए ।

सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए । यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले तामाङको दायाँ खुट्टामा गोली लागेको जानकारी दिए । उनलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि हतियार आक्रमण प्रयास भएपछि तामाङमाथि गोली चलाएको थापाले बताए ।

‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ थापाले भने । प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेको छ ।

 

Loading...