एकात्मक राज्य नै ठीक भन्नेहरु सल्बलाउन थालेको प्रचण्ड ठहर, मन जित्ने काम गर्न आग्रह

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको मन जित्ने काम गर्न स्थानीय सरकारसंग आग्रह गरेका छन । ललितपुर महानगरपालिका वडा नं २६ को नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै उनले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

सिंहदरबारको अधिकार जनताकै घरदैलोमा पुर्याउने योजना अन्तर्गत तीन तहको सरकार बनेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले स्थानीय सरकार जनतासंग प्रत्यक्ष जोडिएकोले जनताको सेवा सुबिधा वृद्धिमा यसको बिशेष महत्व रहेको बताए । उनले स्थानीय तह जनताको सेवासुविधाका लागि भएको भन्दै त्यसैमा संघीयताको मर्म लुकेको स्पष्ट पारे ।

केन्द्रीकृत संरचनाको रुपान्तरण गर्दै स्थानीय तह बनेको बताएका पूर्वप्रधानमंत्री प्रचण्डले जनपक्षीय काममा केन्द्रित हुनपर्ने आवश्यकता समेत औल्याए । ” हिजोकै एकात्मक राज्य नै ठीक भन्नेहरु अलिअलि सल्बलाउन थालेका छन् यसप्रति जनप्रतिनिधिले गम्भीर रुपले सोच्नुपर्दछ ।” उनले भने ।

“काठमाडौँ तराई–मधेश द्रुतमार्ग ललितपुरको विकासका लागि कोशेढुंगा बन्ने दावी गर्दै उनले त्यसका लागि प्रधानमन्त्रीसहितको बैठक राख्न पहलगर्ने आश्वासन समेत दिएका थिए ।

उक्त अवसरमा उद्योग मन्त्री मातृका यादव, नेकपा स्थायी समिति सदस्य एवं सांसद पम्फा भुसाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायतको सहभागिता रहेको थियो भने वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

Loading...