नेपालको १२८ मुलुकसँग व्यापार घाटा

काठमाडौं, ५ जेठ । नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ ।

आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

२३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको छ । व्यापार नाफामा रहेका मुलुकको कारोबार भने धेरै न्युन छ । छिमेकी मुलुक चीन र भारतसँगको व्यापार घाटा मात्रा सबैभन्दा बढी छ ।

पछिल्लो ९ महिनामा भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामान आयात भएको छ । नेपालबाट ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको मात्रै निर्यात भएको छ ।

नेपालकाे सबैभन्दा बढी व्यापार घाटा भारत, चीन, अमेरिका तथा युराेपेली देशहरुसँग रहेकाे छ । नेपालबाट बाहिर निर्यात हुने सामानहरु पनि नगन्य मात्रामा छन् । नेपालबाट बाहिर हुने निर्यातले पेट्राेलियम पदार्थ पनि आयात गर्न नपुग्ने अवस्था छ । निर्यातकाे तुलनामा आयात ठूलाे अनुपातले बढ्दै गएकाे देखिन्छ । चालु आर्थिक वर्षमा आयातकाे मात्रा ३६ प्रतिशतले बढ्दा निर्यात मात्र १८ प्रतिशतले बृद्धि भएकाे देखिन्छ । 

आयात हुने प्रमुख वस्तुहरुमा पेट्राेलियम पदार्थ, सवारी साधनहरु, सवारी साधनका पार्टपुर्जाहरु, सुन, स्टील आदि छन् । नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरु अलैची, अदुवा, गार्मेन्ट उत्पादनहरु, जुट आदि रहेका छन् । 

Loading...